डोल्पासहित हिमाली जिल्लामा तिहारअघि अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसले हिमाली जिल्लाहरुको अधिवेशन तिहारअघि नै गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले तिहारअघि हिमाली जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसअघि दसैँ अगावै २१ वटा हिमाली जिल्लामा जिल्ला तहसम्मको अधिवेशन पूरा गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर दसैँ अगाडि १३ जिल्लाले मात्रै नेतृत्व चयन गरेका छन् । सोमवार बसेको समितिको बैठकमा बाँकी रहेकामध्ये डोल्पासहित ७ जिल्लामा तिहारअघि जिल्ला अधिवेशन गर्न सम्बन्धित जिल्लामा खटिएका निर्वाचन अधिकृतहरुलाई खटाउने निर्णय भएको समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दसैँ अगाडि नै २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य थियो । तर त्यो हुन सकेन । रसुवामा क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । त्यसबाहेक २० जिल्ला हुन् । तीमध्ये १३ वटामा अधिवेशन भइसकेको छ । बाँकी रहेका ७ मध्ये डोल्पामा वडा तहदेखिकै अधिवेशन हुन बाँकी छ । तिहारअघि यिनै ७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरी अधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको घिमिरेले जनाए ।

निर्वाचन समितिले अहिलेसम्म वडा अधिवेशन नै नभएका जिल्लामा अधिवेशनको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा पार्टीका पदाधिकारीहरुसँग छलफल गरेरमात्रै निर्णय लिने भएको छ ।

कांग्रेसका ५१ जिल्लामा वडा अधिवेशन भइसकेको छ । ती जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन अघि बढाउने वा नबढाउने भन्ने विषयमा पनि टुङ्गो लागेको छैन ।

कांग्रेसले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर त्यो मितिमा केन्द्रीय महाधिवेशन गर्ने गरी तल्ला तहको नेतृत्व चयन र प्रतिनिधि चयनमा भने ढिला भइरहेको छ । अहिलेसम्म तोकिएका मितिमा कुनै पनि अधिवेशन पूरा भएको छैन । बरु महाधिवेशनभन्दा छ महिना अगावै टुंगो लगाइसक्नुपर्ने क्रियाशील सदस्यताकै विवाद अहिलेसम्म टुंगिएको छैन ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार २१:२५