राष्ट्रियसभा र प्रतिनिधिसभा उपनिर्वाचन हुने

काठमाडौ‌ं – निर्वाचन आयोगले राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि सरकारसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच सोमवार निर्वाचनबारे छलफल भएको हो ।

राष्ट्रियसभाका १९ सदस्यको पदावधि आगामी फागनु २० दिनमा सकिँदैछ। रिक्त हुन गइरहेका पदका लागि ३५ दिन अगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था भएकाले प्रधानमन्त्री देउवासँग छलफल गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

यस्तै दल त्याग गरेका कारण प्रतिनिधिसभामा चार जना र प्रदेशसभामा १८ सांसदको पद रिक्त छ। यस्तै आगामी बैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको पाँच वर्ष पुग्दैछ। ‘रिक्त निर्वाचन क्षेत्रमा कहिले उपनिर्वाचन गर्ने भन्ने बारेमा छलफल भयो,’ थपलियाले भने ।

प्रधानमन्त्री देउवासँग मतदाता नामावली दर्ता र अध्यावधिक, नामावली दर्ता र अद्यावधिकका लागि गाउँपालिका र नगरपालिकामा खटाउनुपर्ने टोली, आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा पनि छलफल भएको उनले बताए।

प्रधानमन्त्री देउवासँगको छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, उर्जा पम्फा भुसाल र आयोगका पदाधिकारीहरु सहभागी थिए ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार १७:२८