नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

चितवन: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढमा हुने भएको छ । महाधिवेशनको बन्द सत्र भने सौराहामा हुने भएको हो । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको बताइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनी बताउँछिन् । ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ,’ उनले भनिन् । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ ।
यस्तै, महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको हो । अधिवेशनकै सन्दर्भमा आइतवार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । पार्टीका नेताहरूले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । यसैगरी आइतरवार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार ११:४९