तीन लाख मेट्रिक टन धान सखाप
काठमाडौं : बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा तीन लाख २५ हजार दुई सय ५८ मेट्रिकटन धान सखाप भएको छ । ८५ हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।
यद्यपि मन्त्रालयका अनुसार आंशिक क्षतिसमेत गरेर दुई लाख ८५ हजार ७६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा १/१ वटा कार्यटोली गठन गरिएको बताए । सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको बैठकले क्षति मूल्यांकनका साथै राहतबारे कात्तिक ९ गते मंगलबार छलफल राखिएको छ।
वर्षाका कारण सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र कम क्षति बाग्मतीमा पुगेको छ। लुम्बिनीका कपिलवस्तु, बाँके र रूपन्देही जिल्लामा लगाइएका बाली नष्ट भएको छ। वर्षाले ४२ हजार ४ सय २७ हेक्टर जमिनमा लगाएको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धान नष्ट भएको छ। लुम्बिनी प्रदेशका किसानले ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ। कपिलवस्तुमा मात्रै ६४ हजार ३ सय ५० हेक्टरमध्ये ३५ हजार ४ सय ६३ हेक्टरको बाली नष्ट भएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर क्षेत्रफलमा ६८ हजार ४ सय मेट्रिकटनको धान नोक्सानी भएको छ। यहाँका किसानले १ अर्ब ९१ करोड रुपैयाँबराबरको क्षति खेप्नु परेको छ।
प्रदेश १ क्षेत्रका किसानले ८० करोड रुपैयाँबराबरको क्षति भएको छ । सो क्षेत्रमा सात हजार चार सय ९२ हेक्टरमा २८ हजार चार सय ६९ मेट्रिकटन बरबरको धान नष्ट भएको छ।
प्रदेश २ मा ५ हजार ३ सय ५५ हेक्टरमा २० हजार ३ सय ५० मेट्रिकटन बराबरको धान नष्ट हुँदा ५६ करोडको नोक्सानी व्यहोर्नु परेको छ। सो प्रदेशमा सप्तरी, सिरहा र सर्लाही जिल्ला बढी प्रभावित भएका छन् ।
कर्णाली प्रदेशको क्षेत्रमा २२ हजार पाँच सय हेक्टरमा प्रभाव परेको छ। तर यसमध्ये १० हजार पाँच सय ८४ हेक्टर क्षेत्रफलमा लगाएको बाली भने नष्ट हुन पुगेको छ। यहाँ ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ। डोल्पा, जुम्ला, सल्यान, सुर्खेतका किसानले बढी क्षति व्यहोरेका छन् ।
गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, कास्की, नवलपरासीको धान खेतीमा बढी क्षति पुगेको छ। सो प्रदेशमा १ हजार १ सय ९२ हेक्टरमा अत्यधिक क्षति पुग्दा ४ हजार ५ सय ३० मेट्रिकटन धान नष्ट भएको छ। यो १३ करोड रुपैयाँ बराबरको क्षति हो ।
सबैभन्दा कम क्षति भएको बाग्मती प्रदेशमा समेत पाँच सय ३० हेक्टरको जमिनमा दुई हजार ६८ मेट्रिकटन परिमाणको धान नष्ट भएको छ। यसले गर्दा ५ करोड ८० लाख रुपैयाँबराबरको क्षति हुन पुगेको हो। यहाँ चितवन र नुवाकोट जिल्लाका किसानले क्षति व्यहोर्नु परेको छ।
यसवर्ष देशभर १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।
प्रकाशित मितिः ८ कार्तिक २०७८, सोमबार १०:१४
साझा बिसौनी ।