उद्योग दर्ता हुन्छन्, नवीकरण हुँदैनन्

कर्णालीमा बर्सेनि उद्योग दर्ताको संख्या बढ्दो छ । ठूला तथा मझौला उद्योग नभएको यहाँ साना र घरेलु उद्योग दर्ता गर्ने होडबाजी नै छ । तर, दर्ता गर्नेको संख्या बढेपनि तीमध्ये अधिकांश उद्योग अर्को वर्ष नवीकरण भने हुँदैनन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका अनुसार गएका दुई आर्थिक वर्षमा कर्णालीमा नौ हजार एक सय ८५ उद्योग दर्ता भए । त्यसमध्ये दुुई हजार चार सय ८० वटा उद्योग मात्र नवीकरण गरिएका छन् । ६ हजार सात सय पाँच वटा उद्योग नवीकरण भएनन् । दर्तामा आकर्षण देखिए पनि उद्योग सञ्चालन तथा नवीकरणमा चासो नदिने गरिएको हो ।

निर्देशनालयका सूचना अधिकारी रामबहादुर सारुका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा दैलेखमा चार सय ३७ मध्ये ६१ वटा, सुर्खेतमा नौ सय ९१ मध्ये दुुई सय ९१ वटा, सल्यानमा दुुई सय ५९ मध्ये ८२ वटा र जाजरकोटमा तीन सय ३५ वटा उद्योगमा ४८ वटा मात्र नवीकरण गरिएको छ । रूकुम–पश्चिममा दुुई सय सात वटा उद्योग रहेकोमा ४७ वटा नवीकरण भएको निर्देशनालयले जनाएको छ । त्यस्तै, हुम्लामा चार सय ९० उद्योगमा एक सय २६ वटा नवीकरण गरिएका छन् भने डोल्पा कालीकोट, जुम्ला र मुुगुको तथ्याङ्क उपलब्ध नभइसकेको जनाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा दैलेखमा एक हजार २८ वटा उद्योग दर्ता मध्ये चार सय ७३ मात्र नवीकरण भएका थिए । सोही वर्ष सुर्खेतमा एक हजार सात सय ७२ उद्योगमा पाँच सय ५१ र सल्यानमा पाँच सय १५ वटा मध्ये चार सय ७३ मात्र नवीकरण भएका हुन् । यसैगरी, उक्त वर्षमा जाजरकोटमा पाँच सय ७१ मध्ये एक सय २८, डोल्पा चार सय २४ मा कुनै पनि उद्योग नवीकरण गरिएनन् । डोल्पा र कालीकोटमा आर्थिक वर्ष २०७७/०७८ मा उद्योग नवीकरण नै नभएका हुन् । कालीकोटमा दुई सय ९३ उद्योगमध्ये एउटाको पनि नवीकरण गरिएन । रूकुम–पश्चिममा तीन सय १७ उद्योग दर्ता भएकोमा सो वर्ष एक सय सात नवीकरण गरिएका थिए भने हुम्लामा पाँच सय ९६ मध्ये ६५ उद्योग नवीकरण भए । यस्तै, जुम्लाका सात सय १३ वटा उद्योगमा दुुई सय ११ र मुुगुमा दुुई सय ३७ मध्ये एक सय उद्योग मात्र नवीकरण गरिएका निर्देशनालयका सूचना अधिकारी सारुले जानकारी दिए ।

साना तथा घरेलु मात्र नभइ वाणिज्यतर्फका उद्योगको पनि नवीकरण न्यून संख्यामा हुने गरेको छ । प्रदेशभर ६ हजार दुुई सय ३६ वाणिज्य उद्योग रहेका छन् । जसमा गत दुुई आर्थिक वर्षमा चार हजार चार सय पाँच मात्र नवीकरण भएका छन् । उद्योेग दर्ता गर्नेको संख्या बढे पनि कारोबार नगर्ने भएका कारण नवीकरण नहुने गरेको पाइएको हो । उद्योग दर्ता गरेर झोलामा राख्ने प्रवृत्ति मौलाउँदै गएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

कतिपयले पुराना उद्योग नवीकरण गरेर खर्च गर्नुभन्दा नयाँ उद्योग दर्ता गर्ने गरेका छन् । धेरैजसो उद्योगको नवीकरण नहुँदा राजस्व संकलन समेत थोरै हुने गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव मुनबहादुर रावत उद्योग दर्ता गर्ने तर सञ्चालन नगर्ने प्रवृत्ति बढेको बताउँछन् । आर्थिक संकट र कारोबार हुन नसक्दा पनि नवीकरणमा समस्या हुने गरेको पाइएको उनले जनाए । रावतका अनुसार पछिल्लो समय कोरोना महामारीका कारण दुुई वर्षसम्म नवीकरण नगरेका उद्योग पनि छन् । उनी भन्छन्, ‘महामारीको प्रभावका कारण नवीकरण नभएका उद्योगलाई सहयोग गर्ने गरी नीति बनाउन लागिएको छ ।’ त्यसअघिका वर्षमा गरेको कारोबारको सम्पूर्ण विवरण पेस गरेमा नवीकरणमा लाग्ने शुल्क मिनाहा हुने निर्णय गर्ने प्रक्रियामा रहेको उनले जनाए ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार ०५:०१