मेडिकल कलेजको पूर्वाधार निर्माण स्वीकृति

कलेजको पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।

सुर्खेतमा मेडिकल कलेज स्थापनाको बाटो खुलेको छ । करिब तीन वर्षपछि कलेजको पूर्वाधार निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएको हो । कलेज स्थापनाका लागि यो हप्ता मात्रै मन्त्रालयले पूर्वाधार निर्माणको कार्यक्रमहरू स्वीकृत गरेको सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक हेमकुमार ढकालले बताए । उनले भने, ‘अब पूर्वाधार निर्माणका लागि बाटो खुलेको छ ।’

मन्त्रालयले पूर्वाधार निर्माणको कार्यक्रम स्वीकृत गरेसँगै मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढेको हो । तीन वर्षदेखि पूर्वाधार निर्माणको कार्यक्रम नै स्वीकृत हुन सकेको थिएन । ‘बल्ल पहिलो खुड्किलो पार भएको छ,’ ढकालले भने, ‘अब छिट्टै पूर्वाधार निर्माणको प्रक्रिया सुरू हुनेछ ।’ पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण, वातारणीय प्रभाव मूल्याङ्कन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्देशक ढकालले जनाए । यी सबै कामको लागि टेन्डर प्रक्रिया अगाडि बढाउने तयारी आयोजनाले गरेको छ । यद्यपि डीपीआर स्विकृत भएपछि मात्रै मेडिकल कलेज स्थापना हुने वा नहुने यकिन हुनेछ ।

प्रत्येक प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्ने केन्द्र सरकारको रणनीति अनुसार सुर्खेतमा मेडिकल कलेज स्थापनाको कसरत हुँदै आएको छ । कलेजको पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन भएको छ । केन्द्र सरकारले पूर्वाधार निर्माणका लागि उक्त बजेट उपलब्ध गराइएको हो । पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले २०७३/०७४ यता निरन्तर बजेट दिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा पनि पूर्वाधार निर्माणका लागि दश करोड बजेट दिएको थियो । तर पूर्वाधार निर्माणको कार्यक्रम स्वीकृत नहुँदा बजेट फ्रिज गएको थियो । निर्माणको कार्यक्रम स्वीकृत भए पनि कुन ठाउँमा मेडिकल कलेज स्थापना गर्ने भनेर टुङ्गो भने लागेको छैन । डीपीआर तयार भएपछि मात्र जग्गाको टुङ्गो लाग्ने आयोजनाले जनाएको छ ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार ०५:००