विमल घर्तिमगर मच्छिन्द्र क्लबमा आबद्ध

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तिमगर मच्छिन्द्र क्लबमा आबद्ध भएका छन् । विमल र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले आइतवार सम्झौतामा हस्ताक्षर गरेका छन् । विमल एक सिजनका लागि आबद्ध भएका हुन् ।

गत सिजन घाइते भएका विमलको गत फागुनमा शल्यक्रिया गरिएको थियो। उनको घुँडाको शल्यक्रिया कतारको राजधानी दोहामा गरिएको थियो ।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणको दौरान विमलको घुँडामा चोट लागेको थियो । विमलको अभ्यासका क्रममा चोट लाग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । जसका कारण उनी झण्डै एक वर्ष मैदान बाहिर रहे ।

अब उनी सहिद स्मारक ए डिभिजन लिगमार्फत पुनरागमन गर्ने तयारीमा छन् । सिजनको सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट सुरू हुँदैछ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार १८:२३