सजगता अपनाऔं

गर्मीयाम सुरु हुनै लाग्दा पश्चिम सुर्खेतको लगाममा पहिचान नभएको रोगको संक्रमण फैलिएको छ । उक्त रोगका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् । गाउँका हरेक घरका सदस्यहरू बिरामी भएपछि त्यहाँको एउटा सिङ्गो गाउँ नै थला परेको समाचार सार्वजनिक भएको छ । पहिचान नभएको रोगको संक्रमणले गर्दा स्थानीयवासीहरू त्रसित बनेका छन् । अर्कोतर्फ समयमै स्वास्थ्यकर्मीहरू नपुग्दा थप समस्या उत्पन्न हुन पुगेको हो । यद्यपि ढिलै भए पनि स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुगेर उपचार सुरु गरेका छन् । करिब १५ दिन अघिदेखि गाउँमा संक्रमण फैलिएको भए पनि विकट भएका कारण ढिलामात्र जानकारी बाहिर आएको हो । लगाम गाविसको वडा नं. ५ तालागाउँमा फैलिएको संक्रमणलाई थप विकराल हुनबाट रोक्न समयमै सम्बन्धित निकायको ध्यान जान जरुरी छ । दुई सातादेखि संक्रमण फैलिएर दुई जनाले ज्यान गुमाइसक्दा पनि समयमै उपचार नपाउनु विडम्बना हो । गाउँ नै थला परेर दुई जनाको ज्यान जाने बेलासम्म जिल्ला स्वास्थ्य कार्यालय नै बेखबर हुन अर्को ठूलो विडम्बना हो । बिरामीहरूमा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्ता लक्षणहरू देखिएका छन् । स्थानीयले आफूसँग उपलब्ध भएको सिटामोल खाएर रोगसँग लडिरहेका छन् । 
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट दुई दिनको पैदल दूरीमा रहेको उक्त गाउँ अछाम र डोटीको सीमानासँग जोडिएको छ । जसले गर्दा बिरामीहरू स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन् भने त्यहाँबाट गाविसमा रहेको स्वास्थ्यचौकीमा पुग्न पनि ५ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । १५ दिनदेखि रोगको सङ्क्रमण भए पनि स्थानीयले सामान्य रुघाखोकी भन्दै उपचारमा ध्यान नदिँदा गाउँ नै थला परेको बुझिएको छ । गाउँका सबै जसो एकाएक बिरामी हुन थालेपछि स्थानीयले सिटामोल खाएका थिए । यहाँ भाइरल ज्वरोको पहिचान चिकित्सकहरूले क्लिनिकल परीक्षणबाट मात्र गर्ने गर्छन् । तर भाइरसको गम्भीरता थाहा पाउने सेरोलोजिकल परीक्षण भने गरिँदैन । भाइरल ज्वरोको उपचार लक्षणका आधारमा गरिने गरिएको छ । धेरैजसो भाइरल सङ्क्रमण सीधा सम्पर्क, दूषित हावापानी वा दूषित खाना उपयोग गर्नाले हुन्छ । घरेलु उपचारका लागि बिरामीले पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुका साथै पानीपट्टी लगाएर पनि ज्वरोलाई कम गर्न सकिन्छ । अन्य माध्यम बाहेक भाइरलको संक्रमण मुख्यतः बिरामीले हाच्छिउँ गर्दा, खोक्दा वातावरणमा फैलिने पानीको स–साना थोपाको माध्यमले सर्छ । त्यसैले पनि भाइरल संक्रमित बिरामी निको नभएसम्म कार्यालय वा स्कुल जस्ता धेरै मानिसको जमघट हुने क्षेत्रमा नजानु राम्रो हुन्छ । सामान्यतः निको हुन करिब पाँचदेखि सात दिन लाग्ने गरेको छ । अलि जटिलता देखिए तुरुन्त स्वास्थ्य निकायमा सम्पर्क गर्नुपर्छ । 
स्वास्थ्यकर्मीहरूका अनुसार पर्याप्त आराम गर्ने र प्रशस्त तरल पोषिलो पदार्थ सेवन गरेमा यस्तो अवस्थामा फाइदा मिल्छ । नजिककालाई भाइरल सर्ने सम्भावना पाँच गुणासम्म बढी हुन्छ । साबुनपानीले हात धुनु यसबाट बच्ने राम्रो उपाय हो । यो सङ्क्रमण आफंै निको हुने भए पनि ज्वरो एक सातासम्म निको नभए चिकित्सकसँग सल्लाह लिनैपर्छ । भाइरल ज्वरोको सङ्क्रमण हुँदा बिरामीलाई प्रशस्त मात्रामा झोल तथा तरल पदार्थ खान दिनुपर्छ । यस्तै, शरीरलाई पर्याप्त मात्रामा क्यालोरी दिन ग्लुकोज, आरोग्यवर्धक पेयपदार्थ, फलफूलको रस आदि खुवाउनुपर्छ । सजिलै पच्ने खाद्यवस्तु खुवाएमा पाचन प्रक्रिया सहज हुने समेत चिकित्सकहरूको सुझाव छ । मौसम परिवर्तन हुँदा हुनसक्ने मौसमी सङ्क्रमणबाट बच्न प्रत्येक नागरिक स्वयम् सचेत हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरूले पनि यस्तो बेला विशेष सतर्कता अपनाउन जरुरी हुन्छ ।
प्रकाशित मितिः   २८ फाल्गुन २०७२, शुक्रबार १०:२८