प्रदेश १ मा मुख्यमन्त्रीको छिनोफानो आज

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतवार) विश्वासको मत लिने भएका छन् ।  दिउँसो १२ः३० मा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रवारको प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिएको थियो । प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ।

संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उनले प्रस्ताव पेस गरेका हुन्।

सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार १०:०८