सवारी लाइसेन्सको परीक्षा पुनः सञ्चालन हुने

लामो समयदेखि स्थगित सवारी चालक अनुमति–पत्र (लाइसेन्स) को लिखित परीक्षा हुने भएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सको लिखित परीक्षा असोज १५ गते लिने सूचित गरेको छ । स्थगित भएको ६ महिनापछि चालक अनुमति पत्रको परीक्षा हुने भएको हो । कार्यालयका अनुसार गएको वैशाख १४ गतेसम्म बायोमेट्रिक गरिसकेका परीक्षार्थीहरूको लिखित परीक्षा सञ्चालन गर्न लागिएको छ ।

तोकिएको मितिमा लिखितमा अनुपस्थित रहनेको पुनः परीक्षा नहुने कार्यालयले जनाएको छ । जारी सूचनाअनुसार वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालमा बिहान ७ बजेबाट उक्त लिखित परीक्षा सञ्चालन हुनेछ । आगामी १५ गतेको परीक्षामा उतीर्ण परीक्षार्र्थीको लाइसेन्समा वर्ग थपका लागि आवेदन दिएका र पुनः प्रयोगात्मक (ट्रायल) परीक्षा दिन बाँकी रहेकाको असोज १७ गते बिहान ७ बजे परीक्षा हुनेछ । लिखित र प्रयोगात्मक परीक्षा पुरानै मापदण्डअनुसार सञ्चालन गरिने भएको छ । सवारी चालक अनुमति–पत्रको परीक्षा वैशाखयता हुन सकेको थिएन । कोरोना महामारीको जोखिमका कारण लिखित र प्रयोगात्मक परीक्षा स्थगन गरिएका थिए ।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार ०८:४३