नेतृत्व छनोटमा होमियो एमाले

शनिवारदेखि देशव्यापी वडा अधिवेशन, कर्णालीका तीन जिल्लामा केही दिन ढिला
हुम्लाको अदानचुली गाउँपालिका–४ मा शनिवार चयन भएका वडा कमिटी पदाधिकारी

नेकपा (एमाले) पार्टीको आन्तरिक अधिवेशनमा होमिएको छ । आसन्न राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले तल्लो तहका कमिटीमा अधिवेशनमार्फत नेतृत्व छनोट गर्न थालेको छ । देशभर एकसाथ स्थानीय तहका कमिटीको नेतृत्व छनोट गर्न लागिएको हो । जसअनुरूप शनिवारदेखि देशव्यापी वडास्तरका अधिवेशन सुरू भएका छन् । केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घाटन गरेका हुन् ।

देशभर एकसाथ र सर्वसम्मत रूपमा स्थानीय नेतृत्व छनोट गरेर एमालेले पार्टी एकढिक्का भएको सन्देश दिन खोजेको छ । सोहीअनुसार शनिवार विभिन्न जिल्लामा सम्पन्न भएको अधिवेशनरूबाट अधिकांश पालिकाका वडामा सर्वसम्मत रूपमा आगामी नेतृत्व चयन गरिएको छ । अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले गुट हेरेर नभइ सर्वसम्मत रूपमा उपयुक्त नेतृत्व छनोट गर्न निर्देशन दिएका थिए ।

कालीकोटमा एमालेले सबै स्थानीय तहका वडामा सर्वसम्मत प्रतिनिधि छानेको छ । वडा कमिटीहरू निर्विरोध निर्वाचित भएको जिल्ला अध्यक्ष नगेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार जिल्लाका नौ स्थानीय तहका ८२ वडामा चार सय १० जना पदाधिकारीमा आएका छन् । यस्तै, कालीकोटमा सबै वडा कमिटीमा गरी दुई हजार ३२ सदस्य सर्वसम्मत भएको अध्यक्ष शाहीले जनाए । एमालेले हुम्लामा पनि वडा अधिवेशन सुरू गरेको छ । जिल्ला अध्यक्ष दल रावलले ४४ वडामध्ये सात वटामा शनिवार नै सर्वसम्मत नेतृत्व छनोट भइसकेको बताए । उनले अन्य वडामा पनि नेतृत्व चयनको प्रक्रिया सुरू भएको जनाए । रूकुम–पश्चिमका ७३ वडामा एमालेले सर्वसम्मत कमिटी गठन गरेको छ । अधिवेशनमार्फत सबै वडामा नेतृत्व चयन गरिएको हो । कर्णालीका सल्यान, डोल्पा, मुगु र जाजरकोटमा पनि वडा अधिवेशन भइरहेको त्यहाँस्थित एमाले नेताहरूले बताएका छन् ।

अधिकांश जिल्लामा शनिवार नै वडा तहको अधिवेशन सुरु भए पनि केही जिल्लामा भने रोकिएको छ । यसअघि सबै ठाउँमा शनिवार वडा अधिवेशन र कार्तिक ९ गते पालिका अधिवेशन हुने कार्यतालिका थियो । तर, बाढी–पहिरो प्रभावित क्षेत्र र अन्य केही जिल्लामा तयारी नपुगेका कारण अधिवेशन सारिएको छ ।

कर्णाली प्रदेशका तीन जिल्लाबाहेक अन्य जिल्लामा शनिवारदेखि नै वडाअधिवेशन सुरु भएको छ । नेताहरूका अनुसार सुर्खेत, दैलेख र जुम्लामा अधिवेशनको मिति सारिएको हो । तयारी नपुगेको भन्दै यी जिल्लामा अधिवेशनको मिति केही दिन पछाडि धकेलिएको छ । अघिल्लो साताको अविरल वर्षाका कारण कतिपय स्थानीय तह प्रभावित बनेको तथा बाली भिœयाउने बेला भएकाले पनि अधिवेशनहरू सारिएको नेताहरूको भनाइ छ ।

एमाले जिल्ला कमिटि सुर्खेतको बैठकले वडा तथा पालिका अधिवेशन सार्ने निर्णय गरेको थियो । जसअनुसार कार्तिक ९ मा वडा र १५ गते पालिकास्तरीय अधिवेशन हुने जनाइएको छ । यस्तै, दैलेखमा कार्तिक १२ मा वडा र १५ गते पालिका अधिवेशन गर्ने तयारी छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा अधिवेशनको थप तयारीका केही दिन पर सारिएको नेता रुद्र शाहीले बताए । जुम्लामा पनि तोकिएको मितिमा अधिवेशन सुरू हुन नसकेको एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिए । पछिल्लो पटकको वर्षाका कारण आएको बाढी–पहिरोले प्रतिकूल अवस्था बन्दा अधिवेशन सार्नु परेको उनले जनाए । जुम्लामा १० गते वडा र १५ गते पालिका अधिवेशन गरिने छ ।

पार्टी विभाजनपछि विगतमा जस्तो एमालेभित्र प्रष्ट दुई कित्ता नभएकाले नेतृत्व चयनमा यसपटक झमेला नभएको नेताहरूले दाबी गरेका छन् । आन्तरिक बेमेलका कारण एमाले विभाजन भइ केही समय पहिले नेकपा समाजवादी पार्टी स्थापना भएको थियो । अधिवेशन सुरू भएका देशभरका अधिकांश वडामा नेतृत्व छनोटको प्रक्रिया थालिएको एमालेले जनाएको छ । एमालेले १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार ०८:४०