दुर्गन्धित वीरेन्द्रनगर: शुल्क लिइन्छ, फोहोर उठाइँदैन

वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रको फोहोर समयमै व्यवस्थापन गर्न सकेको छैन । जहाँ–त्यही थुप्रिएको फोहोरले नगर दुर्गन्धित बनेको छ । सार्वजनिक स्थल र सडक छेउमा थुपारिएका फोहोर हप्तौ दिनसम्म पनि नउठाउने गरिएको हो । प्रदेश राजधानी भएयता बढ्दो जनघनत्वसँगै पछिल्लो समय यहाँ फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बसपार्क क्षेत्र, मुख्य बजार, मंगलगढी, यरिचोक र रंगशाला आसपासमा स्थानीयले फोहोर जथाभाबी फ्याक्ने गरेका छन् । नगरपालिका फोहोर उठाउन नआउँदा त्यसरी फाल्नुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् ।
वीरेन्द्रनगर नगरपालिकाको नारा ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ समुन्नत वीरेन्द्रनगर’ भन्ने छ । तर, उक्त नाराअनुसार नगरले काम गर्न सकिरहेको छैन । नगरपालिकाले बनाएको नारा र ल्याएको नीति अनुसार काम गर्न नसकेको वीरेन्द्रनगर–६ का कमल खड्काले बताए । ‘चोक–चोकमा फोहोरका डंगुर भेटिन्छन्,’ उनले भने, ‘नियमित फोहोर व्यवस्थापन नगरिँदा झनै समस्या बढ्दै गएको छ ।’ वीरेन्द्रनगरवासीले नगरलाई फोहोर व्यवस्थापनका लागि मासिक रूपमा पैसा तिरिरहेका छन् । सरसफाइ शुल्क वापत नगरपालिकाले एउटा पसलबाट प्रत्येक महिना एक सय रूपैयाँ उठाउँदै आएको छ । मासिक शुल्क बुझाउँदा पनि फोहोर लिन नआउने गरेको व्यवसायीहरूको गुनासो छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि खटाएका कर्मचारीले नै लापरबाही गर्दा पनि समस्या भएको वीरेन्द्रनगर–६ कि मनिषा भट्टराईले बताइन् । महिना सकिने बित्तिकै पैसा लिने र फोहोर लिन ढिला गर्ने गरेको उनी बताउँछिन् । ‘दसैँ अघि एक पटक फोहोर लिन गाडि आएको थियो,’ उनले भनिन्, ‘त्यसयता घर तथा पसलबाट दैनिक निस्किने फोहोर राख्ने ठाँउ नभएर समस्या भइरहेको छ ।’ नगरमा जताततै फोहोरको मात्रा बढेपनि सरोकारवालाले व्यवस्थापनमा चासो नदेखाएको उनको भनाइ छ ।
नगर क्षेत्रमा दैनिक निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिका चुकेको छ । साउन र भदौमा वडाहरूले नै फोहोर उठाउने काम गरे पनि त्यसयता फोहोर व्यवस्थापन हुन नसकेको वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतिप्रसाद कँडेल बताउँछन् । ‘भदौ यता राम्ररी फोहोर उठाउने काम हुन सकेको छैन । फोहोर उठाउने भनेर नगरपालिकाले टेण्डरमार्फत एउटा कम्पनीको जिम्मा पनि दिइएको छ । तर, फाहोर व्यवस्थापन हुन सकेको छैन,’ उनले भने ।
नगरपालिका अनुसार पहिलेभन्दा व्यवस्थित तरिकाले फोहोर संकलन तथा व्यवस्थापन गर्नेगरि भदौ १० गते क्लिन नेपाल प्रा.लि. काठमाडौंसँग नगरपालिकाले सम्झौता गरेको छ । नगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जिम्मा पाएको कम्पनीले सन्तोषजनक काम गर्न नसकेको जनाए । ‘खासै राम्रो काम भएको पाइएको छैन,’ उनी भन्छन्, ‘कम्पनीले लापरबाही गरेकाले फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।’ नगरवासीबाट पनि फोहोर नउठेको गुनासो आइरहेको उनले जनाए । सम्झौताअनुसार काम नभएकाले क्लिन नेपाल काठमाडौंलाई कारबाही प्रक्रिया अगाडी बढाउने तयारी गरिएको पौडेलले बताए । नगरपालिकाले सो कम्पनीलाई लापरबाही नगर्न दुई पटकसम्म सचेत गराइसकेको जनाइएको छ ।
प्रकाशित मितिः ७ कार्तिक २०७८, आईतवार ०८:३८
साझा बिसौनी ।