उचित राहत देउ

कार्तिकको सुरुवातमै झरी प¥यो । केही दिनको अविरल वर्षाका कारण कर्णालीमा जनधनको ठूलो क्षति पुग्यो । विपद्बाट प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । बाढी–पहिरोले नौ जनाको मृत्यु भएको छ । यसबाहेक भौतिक पूर्वाधारदेखि अन्नबालीमा पनि धेरै नोक्सान गरेको छ । भौतिक संरचना तहसनहस भएका छन् भने अन्नबाली सखाप पारेको छ । किसानले भिœयाउन ठिक्क पारेको धान बालीमा समेत अकल्पनीय क्षति पुगेको हो । कतै काटेर सुकाएको धान नाश भयो भने केही स्थानमा काट्न नपाउँदै बाढीले खेतनै बगर बनायो । भकारी कस्ने बेला धान माटोमा मिसियो । सुर्खेतको वीरेन्द्रनगर उपत्यका, जुम्ला, मुगु, सल्यान, कालीकोट र रूकुम–पश्चिममा धानमा बढी नोक्सानी भएको छ । त्यस्तै, वर्षाले हिमाली जिल्लाहरूमा पनि असर गरेको छ । त्यहाँ पनि धान, कोदो, भटमासलगायतका बालीमा ठूलो हानि पुगेको हो ।

केही दिनयता मौसममा सुधार आएपछि किसानहरू खेतमै सोत्तर भएको धान स्याहार्दै छन् । खाने अन्न नाश भए पनि किसानलाई बिउ बच्थ्यो कि भन्ने झिनो आशा छ । किसानले वर्षाले बिजोग बनाएको बाली बटुल्न थालेका हुन् । खेतबारीमा असरल्ल परेको बाली माटो खोस्रेर बिउ बनाउने ध्याउन्नमा उनीहरू छन् । खेतबारीको सबै उब्जनी सखाप भएपछि उनलाई वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ । स्याहार्ने बेलाको बाली उठाउन नपाउदै वर्षाका कारण जमिनमै उम्रिन थालेको किसानहरूले बताएका छन् । पाकेको बाली नष्ट भएपछि किसानहरू निकै मारमा परेका छन् । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार ४८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये ११ हजार पाँच सय ६ हेक्टर क्षेत्रफलको धान नोक्सान भएको छ । झन्डै ३० प्रतिशतसम्म धानमा क्षति पुगेको निर्देशनालयको आकलन छ । निर्देशनालयका अनुसार सल्यानमा सबैभन्दा बढी धानबाली नोक्सान भएको छ । त्यहाँ दुई हजार सात सय ५८ हेक्टरमा लगाइको धान वर्षातले नोक्सान गरेको हो । सुर्खेतमा दुुई हजार पाँच सय हेक्टर धानबालीमा क्षति पुगेको छ । यस्तै, दैलेखमा एक हजार पाँच सय हेक्टर, कालीकोटमा एक हजार एक सय १५ हेक्टर, मुगुमा एक हजार तीन सय ७५ हेक्टर जमिनमा लगाइएको धानमा क्षति भएको छ । यसैगरी, जुम्लामा सात सय आठ हेक्टर, रूकुम–पश्चिममा ६ सय १० हेक्टर, जाजरकोटमा सात सय ५३ हेक्टर र डोल्पामा एक सय ५० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको हो । बाढीले जुम्लामा १८ हेक्टर जग्गासमेत बगाएर बगर बनेको छ ।

बेमौसममा वर्षात भयो । वर्षातले विपद् निम्त्यायो । नागरिक आहात भएका छन् । यो बेलामा सरकारले आवश्यक राहत योजना बनाउन जरुरी छ । त्यसो त संघीय र प्रदेश सरकारले प्रभावितहरूलाई राहत दिने घोषणा गरिसकेका छन् । तर यस्ता राहत कार्यक्रम पीडितअनुकूल हुन जरुरी छ । विपद्का समयमा राज्यले दिने राहतमा पीडितले भन्दा पहुँचवालाले रजगज हुने विगतका उदाहरण दोहोरिन हुँदैन ।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार ०८:३५