एक तिहाइलाई कोरोनाविरुद्वको खोप

काठमाडौं – लक्षित जनस‌ख्याको एक तिहाइले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तभित्र लक्षित समूहको ३२.६ प्रतिशतलाई दुवै मात्रा खोप लगाइसकेको जनाएको छ।

१८ वर्षभन्दा माथिकाले ३२.६ प्रतिशतभन्दा बढीले पूरा डोज लगाएका छन् । पहिलो मात्रा ४३ प्रतिशतले लगाएका थिए ।

मन्त्रालयको तथ्यांकअनुसार १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजारलाई खोप लगाइने उल्लेख छ। हालसम्म १ करोड ८८ लाख डोज नेपाल भित्रिएको छ। जसमा १ करोड ५० लाख डोज खोप लगाइसकिएको छ। पूर्ण मात्रा खोप लगाउने ६४ लाख ८९ हजार र कम्तीमा एक डोज खोप लगाउने ८५ लाख ६८ हजार रहेका छन्।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार असार २९ मा गठन भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने रहेको बताएका थिए। तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि असोजसम्म एकतिहाइ जनसंख्यालाई खोप लगाइसक्ने बताउँदै आएका थिए।

सरकार गठनको एक सय दिन पनि पुगेको अवसरमा लक्ष्यअनुसार खोप लगाउनुलाई सरकारले उपलब्धि मानेको छ।

लक्ष्यअनुसार खोप लगाउन सक्दा कोरोना रोकथाम र नियन्त्रणमा समेत उल्लेख्य प्रगति भएको पौडेलले बताए।

नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएको थियो। त्यसको एक वर्षपछि सरकारले २०७७ माघ १४ गतेबाट खोप लगाउन सुरु गरेको हो। सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ४० वर्षमाथिका प्रायः सबैलाई खोप दिइन थालिएको छ।

सरकारले यही असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तभित्रमा दुईतिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाइ सक्ने लक्ष्य राखेको थियो।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार १८:१९