कर्णालीमा अकल्पनीय क्षति

रजनी योगी-सुर्खेत: 

पछिल्लो पटकको वर्षाका कारण कर्णालीमा जनधनको ठूलो क्षति भएको छ । विपद्बाट प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । तीन दिन परेको अविरल वर्षाका कारण बाढी–पहिरोले मात्रै कर्णालीमा नौ जनाको मृत्यु भएको हो । बेमौसमको वर्षाले भौतिक पूर्वाधारदेखि अन्नबालीमा पनि धेरै नोक्सान गरेको छ । भौतिक संरचना तहसनहस भएका छन् भने अन्नबाली सखाप पारेको छ । किसानले भिœयाउन ठिक्क पारेको धान बालीमा समेत अकल्पनीय क्षति पुगेको हो ।

नौ जनाको मृत्यु

कर्णालीमा बर्सेनि प्राकृतिक विपद्का कारण धेरैको ज्यान जाने गरेको छ । बाढी, पहिरो, चट्याङ, हिमपात, हावाहुरी र संरचना भत्किएर कर्णालीवासीको मृत्यु हुने गरेको हो । यही साता बेमौसमको अविरल वर्षाका कारण प्रदेशभर नौ जनाको ज्यान गएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोले घर पुरिँदा हुम्लामा ६ र कालीकोटमा एक जनाको ज्यान गएको हो । त्यस्तै, जुम्ला र सल्यानमा खोलाले बगाउँदा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएकोे छ । बाढी र पहिरोमा परेका चार जना घाइतेको उद्वार गरिएको छ । कालीकोटमा तीन र सुर्खेतमा एक जना घाइतेको समयमै उद्वार भएको हो ।

पशुचौपायको ठूलो क्षति

केही दिन पहिलेको अविरल वर्षाका कारण प्रदेशभर पशुचौपायको ठूलो क्षति भएको छ । पहिरो र नदीमा आएको बाढीले बगाउँदा एक सय ५४ पशुचौपायाको मृत्यु र एक सय २० बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढीले कालीकोटमा एक सय ३२ भेडाबाख्रा बगेका छन् । कालीकोटमा बाढीले किसानका ११ वटा गाईबाच्छा बगाएको छ । यस्तै, मुगुमा पहिरोले गोठ पुरिँदा ६ वटा भेडाबाख्रा मरेका छन् । हुम्लामा पहिरोमा परी पाँच वटा गोरुगाई मरेका छन् भने जुम्लामा एक सय २० वटा भेडा बेपत्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।

१३ वटा घरमा पूर्णक्षति

कार्तिकमा परेको वर्षाले प्रदेशभर १३ वटा घर पूर्णरूपमा क्षति भएका छन् । जुम्ला, कालीकोट, हुम्ला, सुर्खेत र रूकुम–पश्चिममा घरहरूमा पहिरोले क्षति पु¥याएको हो । यस्तै, पहिरोले हुम्ला र कालीकोटमा गरी तीन वटा गोठ भत्किएका छन् । जुम्लाको तातोपानी गाउँपालिका–८ मा रहेका पाँच वटा पानीघट्ट बाढीले बगाएको छ । सोही स्थानमा रहेका तीन वटा मन्दिर, एक काठ मिल र एक झुलुङ्गे पुलमा बाढी–पहिरोले हानी गरेको हो ।

यसैगरी, तातोपानी गाउँपालिकाकै इमिल्चा खोला र भेरीखोलाको दोभानमा रहेको १२ किलोवाटको लघु जलविद्युत आयोजनाको मेसिनसहित भवनमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कालीकोट खाडाचक्र नगरपालिका–२ जितेस्थित कर्णाली नदीमा रहेको फेरी पनि बाढीले बताएको छ ।

९६ घरधुरी स्थानान्तरण

प्रदेशका विभिन्न जिल्लामा बाढी–पहिरोका कारण उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कालीकोट, दैलेख र सुर्खेतका विभिन्न स्थानमा जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राखिएको हो । कालीकोटको महावै गाउँपालिका–७ राम्नीस्थित ६० परिवारका दुई सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । दैलेखको आठबिस नगरपालिका–१ रामघाटका २५ घरपरिवारका एक सय दुई जनालाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुर्खेतको चौकुने गाउँपालिका–४ झालाका ११ परिवार ७९ जनालाई पनि जोमियुक्त ठाउँबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कार्यालयले दिएको जानकारी अनुसार ९६ घरधुरीका चार सय ३१ जनालाई बाढी–पहिरोको जोखिम नभएका ठाउँमा सारिएको हो ।

पीडितलाई राहत

कर्णाली प्रदेश सरकारले विपद्बाट भएको क्षतिको विवरण संकलन गरी राहत दिने भएको छ । शुक्रवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्मा परेर मृत्यु भएका परिवारलाई दुर्घटना बिमा बापत दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना बिमा अन्तर्गत राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै, घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने भएको छ । परिषद्ले वर्षाका कारण कृषिबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी कृषकलाई क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ । यस्तै, प्रदेश सरकारले अवरुद्ध भएका सडक, सिँचाइ, खानेपानी र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनःस्थापना गरिने बताइएको छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार ०८:२६