बालीमै वर्षातको बज्र, जोगिएला बिउ ?
असोज ३१ गतेबाट कर्णाली प्रदेशभर तीन दिनसम्म अत्यधिक वर्षा भयो । काटेर बटुल्ने बेलाको धानबालीमा वर्षाले क्षति ग¥यो । किसानले मानो रोपेर फलाएको मुरी भिœयाउन पाएनन् । उनीहरूको वर्षभरिको मेहनत खेतमै सखाप भयो ।
बिहीवारदेखि मौसममा सुधार आएपछि किसानहरू खेतमै सोत्तर भएको धान स्याहार्दै छन् । खाने अन्न नाश भए पनि किसानलाई बिउ बच्थ्यो कि भन्ने झिनो आशा छ । किसानले वर्षाले बिजोग बनाएको बाली बटुल्न थालेका हुन् । खेतबारीमा असरल्ल परेको बाली माटो खोस्रेर बिउ बनाउने ध्याउन्नमा उनीहरू छन् ।
वीरेन्द्रनगर–१० का मानबहादुर चौधरी पनि शुक्रवार माटोमा मिसिएको धानलाई बटुल्दै थिए । ‘घर ओसार्ने बेलाको धान वर्षाले चौपट बनायो,’ उनी भन्छन्, ‘खाने धान त बचेको छैन । त्यही बिउसम्म जोगाउन सकिन्थ्यो कि ?’
खेतबारीको सबै उब्जनी सखाप भएपछि उनलाई वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ ।
वर्षाले निम्त्याएको विपद्को उस्तै पीडामा छन्, सोही ठाउँका पे्रम पौडेल । उनको खेतमा अघिल्लो वर्ष १५ मुरी धान फलेको थियो । पौडेल भन्छन्, ‘यसपालि १५ माना नहुने भयो ।’ रोपाइँदेखि गोडमेल र मलपर्सोमा निकै ध्यान दिएका पौडेलले यो वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरेका थिए । तर, मौसमले उनीजस्तै धेरै किसानको खुसी खोसिदियो । ‘निकै मेहेनत गरेँ । आफूले खाइनखाइ गरेर आठ कट्ठा जमिनमा धान रोपाईं गरियो,’ उनले भने, ‘अहिले सबै वर्षातले ध्वस्त बनायो ।’ खेतमा पहेँलपुर भएर पाकेको धान उनले वर्षा हुनभन्दा एक दिन अघि मात्रै काटेका थिए । खेतमै सुकाउन राखेको धान डुबानमा परेको हो । यसपटक धान भिœयाउने इच्छा अधुरै रहेको उनले बताए ।
अविरल वर्षाले कर्णाली प्रदेशका अधिकांश ठाउँको धानबालीमा नोक्सान पुग्यो । कतै काटेर सुकाएको धान नाश भयो भने केही स्थानमा काट्न नपाउँदै बाढीले खेतनै बगर बनायो । भकारी कस्ने बेला धान माटोमा मिसियो । वीरेन्द्रनगर–१० कै अर्का किसान कमल चौधरीले अघिल्लो दिन दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको सुनाए । उनी पनि बिउ जोगाउने आशमा खेतमा धानका बाला बटुलिरहेका थिए ।
पछिल्लो पटकको वर्षाले कर्णालीका दशवटै जिल्लामा असर गरेको छ । वर्षभरि मेहनत गरेर पाकेको बाली नष्ट भएपछि किसानहरू निकै मारमा परेका छन् । सुर्खेतको वीरेन्द्रनगर उपत्यका, जुम्ला, मुगु, सल्यान, कालीकोट र रूकुम–पश्चिममा धानमा बढी नोक्सानी भएको छ । त्यस्तै, वर्षाले हिमाली जिल्लाहरूमा पनि असर गरेको छ । त्यहाँ पनि धान, कोदो, भटमासलगायतका बालीमा ठूलो हानि पुगेको हो । स्याहार्ने बेलाको बाली उठाउन नपाउदै वर्षाका कारण जमिनमै उम्रिन थालेको किसानहरूले बताएका छन् ।
कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार ४८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमध्ये ११ हजार पाँच सय ६ हेक्टर क्षेत्रफलको धान नोक्सान भएको छ । झन्डै ३० प्रतिशतसम्म धानमा क्षति पुगेको निर्देशनालयको आकलन छ । निर्देशनालयका अनुसार सल्यानमा सबैभन्दा बढी धानबाली नोक्सान भएको छ । त्यहाँ दुुई हजार सात सय ५८ हेक्टरमा लगाइको धान वर्षातले नोक्सान गरेको हो । सुुर्खेतमा दुुई हजार पाँच सय हेक्टर धानबालीमा क्षति पुगेको छ । यस्तै, दैलेखमा एक हजार पाँच सय हेक्टर, कालीकोटमा एक हजार एक सय १५ हेक्टर, मुुगुुमा एक हजार तीन सय ७५ हेक्टर जमिनमा लगाइएको धानमा क्षति भएको छ ।
यसैगरी, जुम्लामा सात सय आठ हेक्टर, रूकुम–पश्चिममा ६ सय १० हेक्टर, जाजरकोटमा सात सय ५३ हेक्टर र डोल्पामा एक सय ५० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जनाए । बाढीले जुम्लामा १८ हेक्टर जग्गासमेत बगाएर बगर बनेको छ । बालीमा भएको क्षतिको पूर्णविवरण आउन अझै बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मितिः ६ कार्तिक २०७८, शनिबार ०८:२३
साझा बिसौनी ।