ती प्रचण्ड, यी छविलाल

उमालाल आचार्य

भूमिगतकालमै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चर्चित पत्रकारद्धय नारायण वाग्ले र प्रतीक प्रधानलाई दिएको अन्तरवार्तामा भनेका थिए, ‘यदी सरकारमा नगइ नहुने अवस्था आयो भने पनि अन्य साथीहरूलाई पठाउँछौ तर हामी (बाबुरामजी र म) जाँदैनौँ, बरु बाहिरबाट निर्देशन गर्छौं ।’ उनको यो कुरा मेरो मनभित्र गडेर बस्यो, प्रचण्डप्रतिको सम्मान हृदयमा चुलियो ।

संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पार्टीले अनपेक्षित सफलता पाएपछि प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । प्रधानमन्त्री पदका लागि प्रचण्डले सपथ खाँदै गर्दा मैले त्यो अन्तर्वार्ता सम्झिएँ । मनमा ठेस लाग्यो । खासमा सत्तालिप्साको बीउ त्यतिखेरै रोपिएको थियोे । आफ्नै बोलीमा अडिग रहन सकेनन् कमरेड प्रचण्ड ।

माओवादीले सत्ता सम्हालेपछि प्रचण्डलाई सचेत पार्ने हेतुमा पत्रकार विजयकुमार पाण्डेले एउटा मिठो लेख लेखेका थिए । लेखको आशय थियोे, ‘मुलुक सम्हाल्ने जिम्मेवारीबाट राजधानीले प्रचण्डलाई बाहिर जान फुर्सद दिनेछैन । रुकुम, रोल्पा र दुरदराजका ग्रामीण बस्तीहरूमा, जीवनलाई क्रान्तिमा होमेर प्रचण्ड–बाबुरामसँगै भिरपाखामा हिँडेका जुझारु कार्यकर्ता काठमाडांै आउन सक्ने छैनन् । कथमकदाचित राजधानीमै आए पनि समय र परिस्थितिको बाध्यताले ती कार्यकर्ताको सिधा पहुँच त्यति सजिलो हुने छैन । विभिन्न काम करबाही र कारणले सहरका साहु महाजन, व्यापारी उद्योगपति उच्च खानदान र मध्यस्थकर्तासँग प्रचण्डको उठ्बस हुन सक्छ । अनेकन लोभ, लालच र प्रभावले ती व्यवसायीको घेराबन्दीमा परियो भने तिनी कार्यकर्तासँगको बलियो सम्बन्ध चुटेर जानसक्छ । कार्यकर्ताको गिर्दो मनोबलका कारण पार्टीको गतिविधि सेलाउदै जानसक्छ, विकास डगमगाएर मुलुक अन्योलमा फस्नसक्छ र देशले आशा गरेका प्रचण्ड स्वयम् दलदलमा गढेर उम्कन नसक्ने अवस्था आउन पनि सक्छ । त्यस कारण प्रचण्डले यस्ता चुनौतीमा ध्यान पु¥याउन जरुरी छ ।’

द्वन्द्वकालका घाइते, अपाङ्गता भएका व्यक्ति र बेपत्ता पारिएका नागरिकलाई उचित क्षतिपूर्ति, खोजविन, सहिद परिवारलाई राहत तथा सम्मान, लडाकुहरूको व्यवस्थापन सँगसँगै देशको विकास गर्नुपर्ने कारणले प्रचण्डका काँधमा चुनौतीपूर्ण जिम्मेवारी छ, स्वार्थ त्याग्न सकेमा राजनेता बन्न सक्ने ठूलो अवसर पनि छ । तिनताका बुद्धिजीविहरूका माझमा प्रचण्डको परिचर्चा र प्रशंसा हुन्थ्यो । पहिलाको नाम छविलाल, नागरिकतामा पुष्पकमल र पार्टीको नाम प्रचण्ड । कृषि विज्ञानमा स्नातक तहको अध्ययन, सुरुमा शिक्षण पेसा त्यसपछि आमूल परिवर्तनका लागि देशमा युद्धको शंखघोष गर्ने क्रान्ति नायक इत्यादि ।

पशुपतिमा मुल पुजारी फेर्ने, आठजना अटेरी जर्नेललाई कारबाही गर्ने र प्रधानसेनापति हटाउने जस्ता विवादित विषयले देशभर प्रधानमन्त्री पुष्पकमलको आलोचनाको तरंग फैलदै गए पनि तत्काल कतिले त्यो कार्यशैलीलाई उचित र क्रान्तिकारी कदम ठाने, किन कि देश र जनताको हित विपरीत प्रचण्डले कुनै काम गर्नै सक्दैनन् भन्ने मनमा अटल विश्वास थियो । सेना प्रमुखसँग टकराव बढ्दै जाँदा करिब आठ हजार माओवादी सेनालाई गन्तीमा बीस हजार देखाएर राज्यबाट पैसा असुल गर्ने र जनतामा भ्रम छर्ने भन्ने ढंगले सम्बोधन गरिएको प्रचण्डको एउटा गोप्य भिडियो एकाएक बाहिरियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले महŒव दिँदै दोहो¥याई तेह¥याई प्रशारण गरिदिए पछि माओवादी पार्टीको सान र इज्जतमा प्रचण्डकै कारणले ठूलो धक्का लाग्यो र तमाम कार्यकर्ताको मर्ममा गहिरो चोट प¥यो । चेतना उठेका पार्टीका कयौं कार्यकर्ताले प्रचण्डको गतिविधि नियाल्न थाले । पछि आएर यथार्थ बुझ्दा प्रधानसेनापति रुक्माङ्गगद कटुवालले ऐन मौकामा त्यो उचित कदम उठाएर प्रचण्डको दूरासयलाई नरोकेको भए देशलाई बन्दी बनाएर आफू बादशाह हुने पूर्व तयारी रहेछ भन्ने छर्लङ्ग बुझिन आयो ।

उच्च तहका आफ्ना सहयात्री मोहन बैध्य, बाबुराम भट्टराई, रामबहदुर थापा र नेत्रबहादुर चन्द लगायतका प्रतिष्ठित व्यक्तिको चित्तमा प्रहार गरि अलग्गिन थाले । भारतीय एजेन्टको आरोप लगाएर बाबुराम भट्टराईलाई प्रधानमन्त्री हुने अवसरमा तगारो हाल्न अथक प्रयास गरे तथापि त्यतिबेला भट्टराईको लोकप्रियताको अगाडि प्रचण्डको अभिष्ट हा¥यो । बाहिर हतियार व्यवस्थापनका विषयमा मत बाझिएको फगत कुरा उठाए पनि उच्च व्यक्तिबाट अलग्गिनुको खास भित्री कारण क्यान्टोनमेन्टको अनियमित सरकारी रकम एकलौटी कुम्ल्याउन रहेछ भन्ने भित्री कुरा भट्टराईबाट नै सार्वजनिक रूपमा व्यक्त भैसक्यो । क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको मुद्दा सायद आजसम्म पनि अख्तियारमा विचाराधीन छ ।

जनयुद्धमा गरिबका सन्तानहरू योद्धा भए, योद्धाहरूले परिवर्तनका निम्ति कति रगत बगाए आफन्तजनले त्यही रगतमा आँसु मिसाए । सानो त्याग र बलिदानले होइन नि देश रूपान्तरण भएको । युद्धले सर्वस्व खोसी लगे पनि पार्टी छ, हेर्छ भन्ने विश्वास पालेका थिए । युद्धको घाउ देखाएर घाइते र अपाङ्गहरूले गौरवशाली पार्टीसँग उपचारको गुहार मागिरहे, तर पार्टीलाई सुन्ने फुर्सद थिएन । किन कि जन–मनबाट तिरस्कृत लोकमान सिंह कार्कीलाई अख्तियारमा नियुक्ति दिनु थियोे, संविधानको भावना मिचेर प्रधानन्यायाधीश खीलराज रेग्मीलाई देशको प्रधानमन्त्री बनाउनु थियोे र आफ्नो परिवार, नातागोतालाई जनताको करबाट तलब खाने जागिरमा भर्नु थियो । प्रचण्ड प्रवृतिलाई साथ र सहयोग दिन राजधानीमा सहरीया माओवादी कार्यकर्ताको उदय भयो । ती भाग्यमानी कार्यकर्तालाई कतै काँढाले कोतरेन, वनपाखा हिँड्नु परेन, बन्दुक बोक्नु परेन, युद्ध लड्नु परेन र दुःख कष्ट व्यहोर्नु पनि परेन । माओवादी नामको अत्याधिक खरानी घसेर क्रान्तिकारिको खोल ओढ्दै घिउ र मह चाटिरहे ।

सर्वहारा वर्गको नेताको विलाशी जीवनशैलीबारे पार्टी भित्र–बाहिर व्यापक आलोचना हुँदा पनि प्रचण्डले सुनेनन् । पार्टीको दायित्व र कर्तव्यबाट विमुख भएर त्यसैमा रमाइ रहे । उनको गतिविधि र आचरणबाट दिक्क भएर होला नारायणकाजी श्रेष्ठले तितो पोखेका थिए, ‘अध्यक्ष कमरेडको जीवनशैली हेर्दा उहाँ छिट्टै नयाँ बादशाह हुने अभ्यासमा हुनुहुन्छ ।’ तब पनि प्रचण्ड आफ्नै धन्दामा लागे–छोरी, बुहारी, ज्वाईं, सम्धीलगायत नातागोताको सरकारी पद प्रतिष्ठा संरक्षण प्रबद्र्धधन ।

उतिखेर प्रचण्ड पुत्र प्रकाश दाहालले दलबलसहित सगरमाथाको शिखर घुम्ने भनेर राज्यकोषबाट एक डेढ करोड रूपैयाँ बुझे । सगरमाथा चढ्नुको औचित्य पुष्टि गर्ने प्रयास गर्दै भने, ‘संविधान छिटो बनोस् भनेर दबाब दिन सगरमाथा चढ्नु परेको हो ।’ सगरमाथा चढ्नु र संविधान बन्नुको तालमेल कता जोडिन्छ कसैले बुझेनन् । राज्य आफ्नै, सत्ता आफ्नै ढुकुटी आफ्नै र बाबु आफ्नै । बादशाहका छोराले जे जस्तो गर्दा पनि निरिह कानुनले भेट्न सक्दो रहेनछ ।

रुक्माङ्गद कटुवालले पुस्तक लेखेर प्रचण्डको चरित्र उदांगो पारिदिए । ‘प्रयोगशाला’ पुस्तकले दाहालका कर्तुत र बेइमानी छरपस्ट पोखिदियो । ती पुस्तकहरूका बारेमा प्रचण्डले कतै कुनै प्रतिवाद गरेनन् बरु मौनता साँधेर आफ्नो धन्दामा लागिरहे । राजनीति सम्भावनाको खेल हो भन्दै छोरी रेणु दाहाललाई चुनाव जिताउन विपक्षी दलको सभापति तथा पूर्व प्रधानमन्त्रीलाई प्रचारबाजीमा लाग्न बाध्य पारे । पराजित हुने देखिएपछि मतपत्र च्यातेर धाँधली गर्दै जिताए । यसको तरंग दूरदराजसम्म पुग्ने नै भयो । दूरदराजमा पार्टी कटिबद्ध कार्यकर्ताले त्यस्ता गलत विषयलाई कसरी सामना गर्नु ? मतपत्र च्यातेको ठीक हो भन्दै मुढेबल देखाउनु ? कि च्यातेको हुँदै होइन भनेर कसैले किमार्थ विश्वास नगर्ने सफेद झुट बोलिरहनु ? आखिर कतिसम्म ? के प्राप्तिका लागि ? के कार्यकर्ताको विवेक हुँदैन ? प्रचण्ड र परिवारका कारणले मात्र समाजमा निरन्तर नतमस्तक हुनुपर्दा दिनप्रतिदिन मनोबल भत्कंदै गयो माओवादी कार्यकर्ताको ।

द्वन्द्वकालमा परिवर्तनकामी तमाम युवाहरूलाई राज्यले छोप्यो । कतिलाई बेपत्ता पा¥यो, कतिलाई यातना दिएर मा¥यो, कतिलाई जेल हालेर नेल ठोक्यो । जेल फोडेर पनि भागे आस्थाका साहासी बन्दीहरू । जेल फोडि भाग्ने बन्दीलाई भेटेको खण्डमा राज्यले गोली ठोकि प्राण खोसिदिन सक्थ्यो । प्राणकै बाजी थापेर उनीहरू फेरि युद्धमा मिसिन गए, पटक्कै हारेनन् थाकेनन् र त घुँडा टेक्यो निरंकुशताले । यस्ता वीर योद्धाहरूको अदम्य साहासलाई विषय बनाएर नानीहरूको पाठ्यक्रममा राखिएको भए कति ठूलो सम्मान हुन्थ्यो, एक युगसम्म एउटा अजर इतिहास बन्थ्यो । दुर्भाग्य पार्टी दिन प्रतिदिन शिथिल हुँदै गयो, कार्यकर्ता निराश भए तर पनि पार्टी निर्माण र सुदृढीकरणको रत्ति चिन्तन छोडेर अर्जुनदृष्टि सत्ताको कुर्सीमा मात्र अडियो ।

जनता र कार्यकर्ताबाट विश्वास हराएपछि पार्टी पोलेर, खरानी उडाएर सत्ता र शक्तिका लागि आदर्श सिद्धान्त त्यागेर अर्काको टाँसो लाग्दै सत्ता कब्जा गर्ने रणनीतिमा लागिपरे प्रचण्ड । तर हरेक भद्दा राजनैनिक गुप्त चालहरू प्रतिउत्पादक भएर निरन्तर असफलतातिर उँधो झरेपछि यो संघर्ष विधि र पद्धतिका लागि हो पदका लागि हुँदै होइन भन्दै कार्यकर्ता र जनतालाई फेरि अलमल्याउने भरमग्दुर कोशिस गरे । प्रचण्ड कहिले आफूलाई बुद्धसँग दाँजे, कहिले पृथ्वीनारायण शाहसँग । कहिले जङ्गबहादुरसँग त कहिले गिरिजा कोइरालासँग । महात्मा गान्धी झैँ भएर उच्च सम्मानमा बस्छु भन्नसम्म पनि भ्याए ।

सम्बोधन र संवादमा स्थिरता श्रृंखला लयको तालमेल मिल्दैन, आक्रोशयुक्त कुण्ठा मात्र पोखिन्छ । पटकपटकको जालझेल र कपटपूर्ण राजनीतिबाट हैरान केन्द्रीय समितिका नेताहरूसहित पार्टी पंक्तिका जुझारु कार्यकर्ताहरू धमाधम पार्टी त्याग्न थालेपछि प्रचण्डलाई खपी नसक्नु औडाहा हुन थाल्यो । समाजमा अपमान सहेर कसैको पारिवारिक स्वार्थका लागि कार्यकर्ता किन सति जानू ? अति गर्नु तर अत्याचार नगर्नु । ती लेखक, पत्रकार र विश्लेषकहरूले लेखेका र भनेका कुरा कालान्तरमा सत्य सावित हुँदै आयो । पद, सत्ता र शक्ति बाहेक पटक्कै बाहिर अडिन नसक्नुको परिणामले आज जाज्वल्यमान प्रचण्डलाई पुष्पकमल र पुष्पकमलबाट छविलालमा बिलीन बनाउन थाल्यो । आफ्नै कर्मले लगाएको कालो दागलाई धोएर फेरि सफा पार्न र विश्वास आर्जन गर्न छविलाललाई समयले मौका देला कि नदेला हेर्न बाँकी छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७८, शनिबार ०८:२०