प्रदेशसभाको बैठकमा एमाले सहभागी नहुने

काठमाडौं – बाग्मती प्रदेशसभाको बिहीवार दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी नहुने भएको छ । पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने एमाले मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बस्ने बैठकबाट विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुने अवस्थामा एमालेले बैठक सार्न अनुरोध गर्दै बुधबार प्रदेशसभामा पत्र दर्ता गराएको थियो । प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजनका लागि आवश्यक तयारी गरिसकेको छ ।

एमालेले बैठक सार्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेसँगै विपक्षी गठबन्धनले सदन चलाएर मत विभाजन प्रक्रिया अगाडि बढाउन सभामुख श्रेष्ठलाई आग्रह गरेको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको बैठकमा संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलगाउँदा दलहरूबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार १०:४७