सहयोगी कार्यकर्तालाई अभिमुखीकरण

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन । 
प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरूका लागि दुई दिने अभिमुखीकरण तालिम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सञ्जाल सुर्खेतको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो ।
तालिममा सहभागी सहयोगी कार्यकर्ताहरूले जिल्लाका कुनै पनि बालविकास केन्द्रमा हालसम्म पाठ्यपुस्तक नपुगेको, शिक्षा कार्यालयको मापदण्ड पूरा नभएको, शैक्षिक सामग्रीको अभाव रहेको गुनासो गरेका थिए । जिल्ला शिक्षा कार्यालयमा चार सय ८६, नवज्योतिमा नौ वटा र समुदायमा एक गरी कूल चार सय ९६ वटा बाल विकास केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । 
तालिमको सहजीकरण जिल्ला शिक्षा कार्यालय सुर्खेतका शाखा अधिकृत बलवीर सुनारले गरेका 
थिए । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय सदस्य चक्रमान विश्वकर्माको प्रमुख आतिथ्यता, जिल्ला सञ्जाल सुर्खेतका संयोजक तथा स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका  बलवीर सुनार, नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दीपक बुढा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
प्रकाशित मितिः   २८ फाल्गुन २०७२, शुक्रबार १०:३१