स्काई क्लब फाइनलमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
साथी खोर्के युवा (स्काई) क्लब यसवर्षको जिल्लास्तरीय लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीवार भएको सेमिफाइनलमा बावियाचौर स्पोर्टस् क्लबलाई ३–० ले पराजित गर्दै स्काई फाइनल प्रवेश गरेको हो । उपाधिका लागि उसले साविक विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय मावि)सँग प्रतिस्पर्धा गर्नेछ । 
अरुण गाहा मगरको ह्याट्रिकमा स्काईले वीरेन्द्रनगर स्पोर्टस्सँगको भेट पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक भएको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफ सुरु भए लगत्तै अरुणले उत्कृष्ट गोल गरी स्काईलाई अग्रता दिलाएको थिए । उनले ५४ औं, ६० औं र ६६ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे भने टीमलाई ४० हजार नगद पुरस्कार रहेको एन्फा जिल्ला लिगको उपाधि नजिक समेत पु¥याए ।
उपाधि रक्षा गर्ने होडमा रहेको साविक विजेता वीरेन्द्रनगरले यसअघि बुधवार भएको पहिलो सेमिफाइनलमा सिद्धपाइला स्पोर्टस्लाई २ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो । शनिवार हुने फाइनलअघि भोलि (शुक्रवार) तेस्रो स्थानका लागि हुने खेलमा सिद्धपाइला र बावियाचौरबीच प्रतिस्पर्धा हुने सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले नगद ४० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुने टोलीले १० हजार नगद पाउने सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट स्ट्राइकर, रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही एक÷एक हजार पुरस्कार पाउने उनले जनाए ।