सात महिनापछि आफन्तको काख

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन ।
घरको आर्थिक अवस्था कमजोर भएपछि पूर्वी सुर्खेतको सहारे निवासी सीता गाइन वैदेशिक रोजगारीमा गइन् । गाउँमा मिस्त्रीको काम गर्दै आएका उनका श्रीमान् जयराम गाइनले दोस्रो विवाह गरे । आमा विदेश र बाबुले दोस्रो विवाह गरेपछि घरमा १३ वर्षीया बालिका भावना मात्र रहिन् । आफन्तसँग बस्दै आएकी उनी काठमाडौंमा निःशुल्क पढ्न पाइने भनेपछि गत साउनमा गाउँकै आफन्तको साथमा लागेर राजधानीतर्फ गइन् । तर, काठमाडौं पुगेपछि पढाइको त कुरै भएन, भावनाले राम्रोसँग खान र लाउन नै पाइनन् । उनीसँगै पढाउने भनेर गाउँबाट काठमाडौं लगिएका अन्य १५ जना बालबालिकाहरू समेत राजधानीमा अलपत्र परे ।
आर्थिक अवस्था कमजोर भएको र अभिभावक घरमा नभएको मौका छोपेर जिल्लाको मैनतडा र सहारेबाट काठमाडौं पु¥याइएका १६ जना बालबालिकाहरूको सात महिनापछि मात्र उद्धार गरिएको छ । राजधानीको एक अवैध बालगृहमा पु¥याइएको ती बालबालिकाहरूले सात महिनापछि मात्र बिहीवार आफन्तको काख पाएका हुन् । राजधानीमा अलपत्र परेका उनीहरूलाई जिल्ला बाल कल्याण समिति सुर्खेतले बिहीवार अभिभावक र आफन्तको जिम्मा लगाएको छ । गत साउनमा निःशुल्क पढाइ दिने भन्दै राजधानीमा रहेको इटर्नल वर्ड मिनिस्ट्रिज नेपाल नामक संस्थाले सहारेका १३ जना र मैनतडाबाट तीन जना बालबालिकालाई राजधानी लगेको थियो । गएको साउनमा राजधानी लगेर अलपत्र पारिएका जिल्लाका १६ जना बालबालिकाहरूले बिहीवार परिवार र आफन्तलाई भेटेपछि निकै खुशी भए । ६ वर्षदेखि १३ वर्ष उमेरका ती बालबालिकाहरूले आफूहरूलाई पढाउने भनेर लगिएको भए पनि खाना र कपडा नै नदिएको र एउटै कोठामा कोचेर राखेको गुनासो पोखे ।
बाबुले दोस्रो विवाह गरेको, आमा र बुबा विदेश गएको र घरको आर्थिक अवस्था कमजोर भएको परिवारका बालबालिकाहरू विभिन्न प्रलोभन देखाएर राजधानी पु¥याइएको पाइएको छ । राम्रो विद्यालयमा पढाइ दिने आश्वासन पाएपछि आफ्ना कलिला दुई छोरीलाई काठमाडौं पठाएकी सहारे निवासी मनसरा बस्नेत बिहीवार निकै भावुक भइन् । जब काठमाडौंबाट उद्धार गरेर ल्याइएका उनका छोरीहरूले मनसरालाई देख्ने बित्तिकै अँगालोमा बेरे । लामो समयपछि आमालाई भेटेका उनीहरू निकै खुशी भए । साथै उनीहरूले आमालाई अबदेखि कतै पनि नपठाउन भन्दै कसम नै खुवाए । त्यसपछि  छोरीहरूलाई काखमा लिदैं मनसराले भनिन्, ‘मैले ठूलो गल्ती गरेछु, आफन्तको भर परेर कलिला छोरीहरू जिम्मा लगाएँ । अबदेखि गल्ती गर्दिन, दुःखजेलो गरेर भए पनि घरमै पढाउँछु ।’ उनका अनुसार स्थानीय एक चर्चका पाष्टरले गाउँका बालबालिकाहरूलाई निःशुल्क पढाउने भन्दै राजधानी लगेका थिए । 
सात महिनादेखि राजधानीमा अलपत्र परेका ती बालबालिकाहरूलाई काठमाडौंको हिमाली नविन समाज नामक संस्थाले उद्धार गरेर सुर्खेत ल्याएको हो । बालबालिकाहरूलाई राजधानीको कागेश्वरी मनहरा नगरपालिकाको भद्रवासबाट उद्धार गरिएको संस्थाका व्यवस्थापक रूपा सिटौलाले जानकारी दिइन् । सबै बालबालिकालाई जिल्ला प्रशासन र बाल कल्याण समितिको रोहवरमा उनीहरूका अभिभावक तथा आफन्तलाई बुझाइको हो । जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत रमा भण्डारीले आर्थिक अभावका कारण बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा पारेर जिल्ला बाहिर ओसार्ने गरिएको बताइन् । पछिल्लो समय आफन्तहरू नै बालबालिका ओसार्ने काममा संलग्न भएको भन्दै उनले अब अभिभावकहरू नै सचेत हुनुपर्नेमा समेत जोड दिइन् । यस्तै सुरक्षा चेकमा समेत कडाइ नहुँदा बालबालिकाहरू ओसार्ने क्रम बढेको उनको भनाइ छ । पछिल्लो समय मध्यपश्चिमका विभिन्न जिल्लाबाट बालबालिकाहरू ओसार्ने गिरोह सक्रिय रहेको छ । केही महिना अघि मुगुबाट राजधानी लैजाँदै गरेका १४ जना बालबालिकाहरूलाई सुर्खेतबाट उद्धार गरिएको थियो ।
प्रकाशित मितिः   २८ फाल्गुन २०७२, शुक्रबार १०:३८