विपद् विवरण : कर्णालीमा कहाँ के भयो ?
सुर्खेत : तीन दिनदेखिको अविरल वर्षातले कर्णाली प्रदेशका विभिन्न जिल्लामा क्षति पुर्याएको छ । बाढी र पहिरोले भाैतिक तथा मानवीय क्षति पुर्याएको छ भने कतिपय बस्ती जोखिममा परेका छन् । नदीले बगाउँदा पशुचौपायाकाे पनि मृत्यु भएको छ । प्रदेशभरका प्रमुख घटनाहरु यहाँ प्रस्तुत गरिएको छ :
हुम्ला : पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु
पहिरोले घर पुरिँदा हुम्लामा ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–५ खरपेलगाउँका ७० वर्षीय धनवीरे शाहीको घर मंगलवार पहिरोले पुरिएको हो ।
मृत्यु हुनेमा धनवीरेसहित उनका छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, नाति अलिन्द शाही, हुमेस शाही र जसबहादुर शाही छन् ।
कालीकोट : दुई सय ५० जनाको उद्दार
जिल्लाको महाबै गाउँपालिका–७ राम्नीका बिष्णुलाल अधिकारीको घर पहिरोले बगाउँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ ।
यस्तै पहिरोको जोखिममा रहेका ६० घरका दुई सय ५० जनालाई उद्दार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीको टोलीले उनीहरुको उद्दार गरी आवश्यक राहत समेत वितरण गरेको छ ।
यसैबीच कर्णाली नदीले बगाउँदा एक सय ३७ पशुचौपायाको मृत्यु भएको छ । तिलागुफा नगरपालिकाका नौ घरका एक सय ३० भेडा र बाख्रा मंगलवार साँझ तिला नदीले बगाएको छ । मंगलवार नै पचाल झरना गाउँपालिकाका बिर्ख सिजुवालको गोठ बाढीले बगाउँदा चार वटा गाई र तीन वटा बाच्छा मरेका छन् ।
जुम्ला : दाउरा निकाल्न जाँदा नदीमा बेपत्ता
नदीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा एक जना महिला बेपत्ता भएकी छिन् । जिल्लाको हिमा गाउँपालिका–६ बाघबजार बस्ने रन्ना शाही मंगलवार बेपत्ता भएकी हुन् । हिमा नदिले बगाई ल्याएको दाउरा निकाल्न जाने क्रममा उनी नदीमै बगेर बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बेपत्ता शाहीको खोजी भइरहेको छ ।
सुर्खेत : एघार परिवारलाई स्थानान्तरण
चौकुने गाउँपालिका–४ झालाका ११ परिवारलाई स्थानान्तरण गरिएको छ । कर्णाली नदीको बहाव बढेपछि असुरक्षित बनेको बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो । ११ परिवारका ७९ जनालाई सोही ठाउँको शिवालय माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो ।
दैलेख : जोखिममा रामाघाट बजार
दैलेखको आठबीस नगरपालिकास्थित रामाघाट बजार जोखिममा परेको छ । कर्णाली नदीमा बहाव बढेपछि बजार नै असुरक्षित बनेको हो । नदीको पानी बजार पस्न थालेपछि २५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रकाशित मितिः ३ कार्तिक २०७८, बुधबार १३:२२
साझा बिसौनी ।