कांग्रेस महाधिवेशन फेरि सर्दै

काठमाडौं – नेपाली कांग्रेसको १४ महाधिवेशन निर्धारित समयमा नहुने देखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार आगामी मंसीर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, १३ जिल्लाको वडा अधिवेशन नै अहिलेसम्म सुरु नभएकाले निर्धारित मितिमा महाधिवेशन सम्भव नदेखिएको हो ।

स्रोतका अनुसार महाधिवेशनलाई पुसको पहिलो हप्तासम्म सार्ने तयारी भइरहेको छ । दशैंअघि नै स्थानीय तह र हिमाली भेगका २१ जिल्लाको अधिवेशन गर्ने घोषणा गरेको कांग्रेसले त्यसअनुसार गर्न सकेको छैन ।

रौतहट, बारा र रसुवाको अहिलेसम्म क्रियाशील सदस्यता सूचीसमेत सार्वजनिक भएको छैन । सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेमा वडाअधिवेशन कहिले गर्ने टुंगोसम्म लागेको छैन । पार्टीको निर्वाचन समितिले रसुवा, रौतहट र बाराको कियाशील सदस्यता सूची सार्वजनिक भएपछि मात्रै यी १३ ओटा जिल्लाको कार्यसूची एकैचोटी बनाउने बताएको छ ।

कांग्रेसले अब पुनः महाधिवेशन मिति परिवर्तन गर्दा त्यो पाँचौं पटक हुनेछ । पहिलो पटक २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय कांग्रेसले गरेको थियो । उक्त मितिमा गर्न नसकिने भन्दै ०७८ को भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरियो तर त्यसमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन ।

त्यसलाई पुनः १६ भदौ देखि १९ सम्म गर्ने भनियो तर त्यसमा पनि कांग्रेस टिक्न सकेन । क्रियाशील सदस्यता विवाद चर्किएपछि गत साउन ३० मा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति ९ मंसीर ९ देखि १३ सम्म गर्ने निर्णय गर्‍यो ।

तर, वडा तहकै अधिवेशन एकसाथ सबै जिल्लामा गर्न नसकेपछि कांग्रेसको अन्य कार्यतालिका पुनः प्रभावित हुन थालेका छन् । दशैं अगाडि सकाउने भनिएका सबै स्थानीय तहको अधिवेशन नहुँदा मंसीरको घोषित मिति पनि प्रभावित हुने कांग्रेस नेताहरू बताउँछन् ।

प्रकाशित मितिः   २ कार्तिक २०७८, मंगलवार २३:१७