राष्ट्रिय सम्मेलन कार्यतालिका संशोधन

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी सदस्यता नवीकरणको म्याद कार्तिक २५ गतेसम्म थपिएको छ भने टोल सम्मेलन कार्तिक २७ गतेसम्म गरिसक्ने प्रवक्ता कृष्णबहादुर महराले जनाकारी दिए । उनका अनुसार वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ । पालिका सम्मेलन मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्ने गरी कार्यतालिका संशोधन भएको छ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराले बताए ।

यस्तै माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५/२५ सदस्यीय गठन गरेको छ। निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशलकुमार पोखरेल र अनुशासन आयोगमा टंक राई अध्यक्षता तोकिएका छन्। माओवादी केन्द्रले भूगोलभन्दा बाहिर काम गर्ने कार्यकर्ताको विशेष समिति गठन गरेको छ । जसमा १७५ जना सदस्य छन् ।

प्रकाशित मितिः   २ कार्तिक २०७८, मंगलवार २३:०७