नेपाली टोली ताजकिस्तान प्रस्थान

काठमाडौ‌ं- एएफसी यू–२३ एशियन कप छनोटका लागि नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान गरेको छ। २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाल इरान, लेबनान र ताजिकिस्तान रहेको समुह ‘बी’ मा रहेको छ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टोलीका ६ खेलाडीलाई समेट्दै  २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । माल्दिभ्समा सम्पन्न साफमा उपविजेता बनेर फर्केको टोलीबाट ६ खेलाडीलाई यू-२३ टोलीमा समेटेका हुन् ।

राष्ट्रिय टोलीका डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डर नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीले यू-२३ टिमबाट खेल्नेछन्।

नेपालले प्रतियोगिता अघि इन्डोनेसियासँग २२ अक्टोबरमा ताजकिस्तान एक मैत्रीपुर्ण खेल खेल्नेछ।

एएफसी यु–२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म हुनेछ। नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्ने तालिका छ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ।

प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ। नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन।

प्रकाशित मितिः   २ कार्तिक २०७८, मंगलवार २०:५४