अष्टलक्ष्मीलाई प्रतिस्थापन गर्दै राजेन्द्र पाण्डे

काठमाडौं-  बागमतीमा नयाँ बन्ने मुख्यमन्त्रीको नाम लगभग तय भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई प्रतिस्थापन गर्न एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे आउने भएका छन्।

वर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव टेबल गरिसकेकी छन् । प्रदेश सभाको बैठक विहीवार बस्दै छ। सम्भवतः सोही दिन त्यसको टुंगो लाग्नेछ।

प्रदेश सभाबाट वर्तमान मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन । शाक्यले विश्वासको मत नपाएपछि यही साता पाण्डे मुख्यमन्त्री बन्ने एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्यले बताए।

बागमतीमा पाण्डे नै एकीकृत समाजवादीका संसदीय दलका नेता हुन् ।

बागमती प्रदेश सभाका एक सय १० सदस्यमध्ये अहिले कायम एक सय ९ जना छन् ।  शाक्यको पक्षमा एमालेका ४३ जना मात्र छन्। पाण्डेको पक्षमा एकीकृत समाजवादीका १३ जना, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका तीन र जसपाका एक प्रदेश सभा सदस्य हुनेछन् । उनीहरु यसमा खुलिसकेका छन्। नेमकिपाका दुई र राप्रपा दुई जना भने कतै खुलेका छैनन्।

प्रकाशित मितिः   २ कार्तिक २०७८, मंगलवार २०:५९