आरसी–३२ ‘सी’ डिभिजनमा बढुवा

सुर्खेतको आरसी–३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगको छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतवार झापाको समाजसेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै आरसी–३२ ‘सी’ लिगमा बढुवा भएको हो ।

एन्फा कम्प्लेक्स सातदो बाटोमा निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आरसी–३२ भाग्यमानी रह्यो । पेनाल्टीमा आरसी–३२ का युकेश तामाङ, सनम लिम्बु, बबिन बोहरा, विवेक सन्तोषी र बिदुर आलेले गोल गरे । पेनाल्टीमा समाजसेवीका मानबहादुर आले, सुमन लिम्बु र टेकेन्द्र राना मगरले गोल गरे । समाजसेवीका रोजिन कार्कीको प्रहार आरसी–३२ का गोलकिपर मुकेश घर्ति मगरले बचाए ।

पेनाल्टी अघि १२औं मिनेटमा बबिन बोहराले गोल गर्दै आरसी–३२ लाई अग्रता दिलाएका थिए । खेलको १९औं मिनेटमा खगेन्द्र बयलकोटीले गोल गर्दै समाजसेवीलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको २९औं मिनेटमा विवेक सन्तोषीले गोल गर्दै आरसी–३२ लाई २–१ को अग्रता दिलाए । तर, खेलको ५०औं मिनेटमा हरिबहादुर आले मगरले गोल गर्दै समाजसेवीलाई २–२ गोलको बराबरीमा फर्काएका थिए । छनोट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मितिः   २५ आश्विन २०७८, सोमबार ०५:००