अस्पतालमा बालिकाको मृत्यु, आफन्त आन्दोलित

कर्णाली प्रदेश अस्पताल शनिवार दिनभर तनावग्रस्त रह्यो । डाक्टरहरूको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित बनेपछि अस्पतालमा झडपको स्थिति बनेको हो । बालिका मृत्यु भएको विषयमा उचित छानबिनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेका हुन् ।

दैलेखको नारायण नगरपालिका ४ की पूजा कटुवालकी तीन वर्षकी छोरी कुसुम कटुवालको शुक्रवार राती प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बालिकाका आफन्तले खासै समस्या नभएकी उनको एक्कासी मृत्यु भएको भन्दै डाक्टरहरूले लापरबाही गरेको दोष लगाएका हुन् । उनीहरूले घटनाको उचित छानबिन हुनुपर्ने माग गरेका छन् ।

ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको आफन्तहरूको दाबी छ । बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको हो । बालिकालाई श्वास फेर्न समस्या भएको थियो । पछि समस्या नहोस् भनेर दैलेख अस्पताल ल्याएको र त्यहाँबाट प्रदेश अस्पताल रेफर गरिएको पूजाले बताइन् । उनका अनुसार शुक्रवार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको स्वास्थ्य अवस्था जाँच गरेका थिए । ती डाक्टरले श्वास नलीमा समस्या आएको बताएको आफन्तहरूले जनाएका छन् । उनीहरूका अनुसार प्रदेश अस्पतालमा आईसीयू खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान समेत डाक्टरहरूले सुझाएका थिए । ‘तर, एक्कासी राती १० बजे डाक्टरहरूले मृत्यु भएको बताए,’ मृतक बालिकाकी आमा पूजाले भनिन् । प्रदेश अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गरी श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको जनाएको छ । डाक्टरहरूबाट कुनै लापरबाही नभएको अस्पतालको दाबी छ ।

प्रकाशित मितिः   २४ आश्विन २०७८, आईतवार ०५:०१