बेरोजगारका व्यथा

दसैँ सुरु भइसकेको छ । घटस्थापनासँगै औपचारिक रूपमा दसैँ सुरु हुन्छ । घर–घरमा जमरा राखिएका छन् । रौनक भित्रिएको छ । सहरदेखि गाउँघरसम्म चाडको चहलपहल बढेको छ । मिठो–मसिनो खाने, नयाँ लुगा लगाउने र आफन्त तथा साथीभाइ भेटघाट गरेर मनाउने पर्वका रूपमा दसैँलाई लिइन्छ । यसका धार्मिक मान्यताहरू पनि छन् । यद्यपि त्यसभन्दा बढी सामाजिक रूपमा यसको महŒव बढी छ । कामविशेषले घरबाहिर भएकाहरू वर्षदिनमा एकचोटी भए पनि मूलघर टेक्ने समय मानिन्छ यो । सोहीअनुसार यतिबेला देश–विदेशमा रहेकाहरू गाउँतिर फर्किन थालिसकेका छन् । चाड मनाउन आउनेको लस्कर लागेको छ । विभिन्न पेसा व्यवसाय र अध्ययनका सिलसिलामा घरबाहिर रहेकाहरू परिवारसँगै खुसी साट्न फर्किन्छन् ।

एकातर्फ दसैँको रौनक छाएको छ, तर यहीबेला आँगनमै आएको दसैँ छोडेर परदेशिनुपर्ने बाध्यतामा छन् कर्णालीका कैयौं युवा । अहिले चाडपर्व मनाउन घर आउनेहरू मात्र छैनन्, यसैबेला गाउँघर छोड्नेहरूको संख्या पनि ठूलो छ । फर्किनेको लर्कोसँगै रोजगारीका लागि परदेश पस्नेको ताँती छ । बडादसैँका बेला गाउँ फर्कने र छोड्ने दुवै थरीका भने आफ्नै खुसी र बाध्यता छन् । चाडका बेला गाउँ आउनेलाई उमंग छ, यतिबेलै कामको खोजीमा घर छोड्नु पर्नेलाई पीडा । कर्णालीका सबैजसो जिल्लामा बेरोजगारी समस्या अधिक छ । देशभित्रकै ठूला सहर र भारत लगायत तेस्रो मुलुक नगइ धेरै नागरिकलाई जीवन धान्न मुस्किल छ । त्यसैले मुख्य चाडमा पनि कर्णालीबासी परिवार छोडेर रोजगारी खोज्न भारत गइरहेका हुन् । कोरोना महामारीका कारण पुरै समय काम गर्न नपाएर भारतबाट फर्किएकाहरू चाड भित्रिसक्दा पनि फेरि बाहिरिन थालेका छन् । कर्णालीमा ज्याला मजदुरी गर्न भारत जानुलाई कालापहाड भनिन्छ ।

भौगोलिक रूपमा विकट कर्णाली आर्थिक रूपमा कमजोर छ । रोजगारीका पर्याप्त अवसर छैनन् । भोकमरीले सताउँछ । आम्दानीका लागि परदेशमा निर्भर हुनुपर्नेको संख्या ठूलो छ । त्यसमाथि पछिल्लो दुई वर्षदेखि विश्वभर फैलिएको कोरोना महामारीले सताएको छ । भएका रोजगारी पनि गुमेका छन् । भोको पेटमा चाडपर्वको उमंग हुने कुरै भएन । यही बाध्यतामा पिल्सिएका कर्णालीका युवाहरू दसैँको मुखैमा घर छोडेर परदेशिएका छन् । कर्णालीका नागरिकहरू खासगरी खेतीपातीको काम सकेर भारत जान्थे । धन कमाएर दसैँ–तिहार जस्ता ठूला पर्वमा गाउँघर फर्किन्थे । पछिल्लो समय कोरोना महामारीका कारण धेरैले भारत पुग्न वित्तिकै काम छोडर फर्कनु प¥यो । लामो समय गाउँमै बेरोजगार बसे । आर्थिक अभावले अहिले उनीहरू घर फर्कनुपर्ने सिजनमा भारत पस्न थालेका हुन् । यहाँबाट रोजगारीका लागि भारत जाने युवाको संख्या बर्सेनि बढ्दो छ । यकिन तथ्याङ्क नभए पनि कर्णालीका झन्डै एक लाख नागरिक भारतका विभिन्न सहरमा रहेको आकलन छ । तीमध्ये सबैजसो कामको खोजिमा गएकाहरू हुन् । गाउँमा कमाइ गर्नलाई रोजगारीका अवसर छैनन् । जीविकोपार्जनका लागि भारत पस्नु कर्णालीको पुरानै बाध्यता हो ।

प्रकाशित मितिः   २५ आश्विन २०७८, सोमबार ०५:००