संकटमा सम्पदा

दैलेख ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हो । नेपाली भाषाको पहिलो शिलालेख यहाँ छ । ३२ जातजातिको उद्गमस्थल यही हो । दैलेखसँग सिंजा सभ्यता जोडिन्छ । बाइसे–चौबिसे राज्यका बेला निर्माण गरिएका देवल र किर्तिखम्बहरू छन् । पाथरनाउली र कोतगढी दैलेखमै पर्छ । पानीमाथि ज्वाला बल्ने ठाउँ हो यो । ऐतिहासिक, धार्मिक तथा पुरातत्त्व दृष्टिले मात्र होइन, मनोरम प्राकृतिक छटाहरूले पनि यो जिल्ला भरिपूर्ण छ ।

के छैनन् दैलेखमा ? यहाँ झरना छन् । ताल छन् । गुफा छन् । त्यसैले त दैलेख धार्मिक आस्थाका लागि मन्दिर हो, ऐतिहासिक खोज अनुसन्धान गर्ने अध्येताका निम्ति पाठशाला र पर्यटकका लागि रोजाइँको गन्तव्य । यद्यपि, जिल्लामा यतिधेरै महŒवका स्थान भए पनि तीनको उचित सम्भार भएको छैन । ती स्थान संरक्षणको अभावमा छन् । घेरबार छैन, रेखदेख हुँदैन । सम्पदाहरूको उचित प्रचार–प्रसार भएन । संरक्षण र जीर्ण संरचनाको पुनर्निर्माण हुन सकेन । यसै कारण जिल्लाका थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महŒवका स्थलहरू ओझेलमा परे ।

लामो इतिहास बोकेका सम्पदाहरूको अस्तित्व बर्सेनि संकटउन्मुख छ । त्यस्ता संरचना जीर्ण बन्दै गएका छन् । धार्मिक तथा ऐतिहासिक स्थलहरू मर्मतसम्भारको पखाईमा छन् । तीनै तहका सरकारसँग सम्पदाको संरक्षका लागि ठोस योजना छैनन् । स्थानीयहरूको प्रयास र पहलले मात्रै ऐतिहासिक स्थलहरू अहिलेसम्म जेनतेन जोगिएका छन् । स्थानीय तहले पनि यस्ता स्थलको संरक्षणमा चासो दिएका छैनन् । अधिकांश पालिकाहरूले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू जोगाउने नीति, कार्यक्रम र बजेट ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । ‘नजिकको तीर्थ हेला’ भनेझै आँगनका स्थलको नै पालिकाहरूले बेवास्ता गर्दै आएका हुन् । त्यसैले त अनेकन सम्पदाले धनी दैलेखमा सबै थोक भएर पनि केही नभए जस्तो भएको छ । पर्यटन गतिविधि न्यून छन् । तीनको प्रचार–प्रसार र खोज–अनुसन्धानमा समेत ध्यान दिइएको छैन ।

धार्मिक पर्यटकीय स्थल ललाट ज्वाला

ललाटेश्वर महादेवको मन्दिर दुल्लू नगरपालिका–१० गमौडीमा पर्छ । जिल्लामा ओझेलमा परेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमध्ये यो पनि एक हो । जीर्ण पूर्वाधारको सम्भार नहुँदा यसको अस्तित्व संकटमा छ । यो पञ्चकोशी क्षेत्रभित्र पर्ने सबैभन्दा धेरै अर्थात् पाचँ वटा ज्वाला एकै स्थानमा बल्ने मन्दिर हो ।

मन्दिर ढुङ्गैढुङ्गाबाट बनेको छ । ललाटेश्वर श्रीस्थानबाट पाँच सय मिटर दक्षिणतर्फ छ । आकर्षक ढुङ्गैढुङ्गाले बनेको ललाटेश्वर महादेवको मन्दिर रहेको जग्गा व्यक्तिको नाममा छ । भित्र निकै कलात्मक दृश्य देख्न सकिन्छ । मन्दिरको आँगनमा हरियाली छ । अहिले मन्दिरभित्रको ढुङ्गाको चार वटा खम्बामध्ये तीन वटा भत्किएको अवस्थामा छन् । एउटा खम्बा ढल्ने वित्तिकै यो मन्दिर पुरै क्षति हुने देखिन्छ । ललाटेश्वर महादेवको मन्दिर संरक्षणको पखाईमा छ । यसलाई महाभारतकालीन पाँच पाण्डवहरूले बनाएको भन्ने विश्वास गरिन्छ । मन्दिर नजिकैका वीरखम्बहरूमा रहेका अभिलेख तथा आकृतिहरू मेटिइसकेका छन् । मन्दिरको भित्रि भागमा रहेका चक्राकार शिला टुटेका छन्, घोटिएका छन् ।

श्री स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यसै स्थानमा आइपुग्दा सतीदेविको निधार पतन भएको थियो । त्यसैले यस स्थानलाई ललाटेश्वर स्थान भनिन्छ । कलात्मक र पाञ्चायन वास्तुपद्धतिमा निर्मित यो मन्दिर अहिले जीर्ण छ ।

नेपाली भाषाको पहिलो शिलालेख

जिल्लाका ऐतिहासिक स्थलमध्ये एक हो, पहिलो शिलालेख । यसलाई कीर्तिखम्ब पनि भनिन्छ । संरक्षण नहुँदा यो स्थान गाइगोरु र बाख्रा बाँध्ने थलो बन्दै गएको छ । नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्ब (कीर्तिस्तम्भ) दुल्लूबासीको मात्र नभएर नेपालीहरूको गहनाका रूपमा लिने गरिन्छ । तर संरक्षणमा स्थानीय सरकार बेखबर जस्तै छ । संरक्षणको लागि योजना बने, बजेट विनियोजन भयो र खर्च पनि गरियो । तर, लाखौं रकम खर्चिएको यो स्थानको मुहार फेरिएन । स्थानीयले समेत यसको महŒव बुझ्न सकिरहेका छैनन् । कीर्तिखम्ब परिसरमा नेपाली भाषाका लिपी भएका खम्बाहरू बस्तुभाउ बाँध्ने किलाका रूपमा प्रयोग हुँदै आएका छन् ।

दुल्लू दरबार

उहिले सिंजा राज्यको हिउँदे राजधानी हो दुल्लू । यहाँ दरबार थियो । जीर्ण भए पनि केही वर्ष पहिलेसम्म दरबारका संरचना थिए । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादीले दरबारमै बम फाले । दरबार खरानी बन्यो । त्यसयता यसको पुनर्निर्माण भएको छैन । वि.सं. २०६० वैशाख ८ गते माओवादीले दरबारमा बम पड्काएका थिए । तीनवटा भ¥याङ, ५२ वटा झ्याल ढोका भएको उक्त दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । इतिहासका जानकारहरूका अनुसार नेपाल एकीकरण अभियान पूर्व बाइसे, चौबीसे राज्य रहँदा अहिलेको दैलेख गोर्खा राज्यपछिको शक्तिशाली मानिन्थ्यो । तत्कालीन सिंजा राज्यका चल्ल राजाहरू (जो पछि मल्ल भनिए) उनीहरूको शितकालीन राज्यको रूपबाट विकशित उक्त राज्यको पूर्वी सिमा गण्डकीसम्म थियो भन्ने इतिहास भेटिन्छ । भनिन्छ, ‘दुल्लू राज्यको तिरोभरो अहिलेको अफगानिस्थानसम्म उठाउने चलन थियो ।’ यस राज्यका अन्तिम राजा स्व. जंगबहादुर शाह थिए ।

प्रबद्र्धनका योजना छैनन्

यहाँका पर्यटकीयस्थलहरूमा कच्ची सडक पुगेको छ । अन्य पूर्वाधारको पहँुचमा यी स्थान छैनन् । होटलहरू छैनन् । ऐतिहासिक, धार्मिक ताथा पर्यटकीय महŒवका यी स्थलमा सामान्य खाना र आवास समेतको व्यवस्था छैन । पञ्चकोशी क्षेत्रको कोटिला, श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुकामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरू कोही पैदल र कतिपय निजी सवारी साधनको प्रयोग गर्छन् । सार्वजनिक सवारी साधनको व्यवस्था छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि पूर्वाधार नभएकै कारण यो क्षेत्र पछि परेको छ । टाढाबाट तीर्थव्रत गर्न आउने तीर्थालुलाई बाँस बस्नकै लागि सदरमुकाम फर्कनुपर्छ । पञ्चकोशी तीर्थस्थलमा सदियौंदेखि पानीमाथि ज्वाला बलिरहेका छन् । तर, यहाँ राज्यको नजर भने अझै पर्न सकेको छैन ।

प्रकाशित मितिः   २३ आश्विन २०७८, शनिबार ०५:०२