कविता

तमासा

कविता


उमालाल आचार्य

प्यारा देशबासी !
हुने हुनामीको नियतिले कति अखानो ग¥यो
देशमा अलच्छिन पसेर स्वर्गवास आउनु प¥यो
भूतलमा हुँदा धेरै थोक सुनियो केही भोगियो
ती सुनाइ र भोगाइहरू मनका पानामा लेखियो
फेर्न अति कठिनभित्रका पुराना केही हुकुमी संस्कार
नखाउँ दिनभरको सिकार खाउँ कान्छाबाको अनुहार
धाक धम्की धक्कु र घुर्की धेरै भए सवाल जवाफ
मुमाज्युको गुनासो र बडामहारानीको खरो दबाब
हामीले उचित मानेको भए मनासिब ठानेको भए
जनताका पीर मर्का कसले बुझ्थ्यो कसले सुन्थ्यो
बहुदलसँग पनि हाम्रो नाता संबन्ध टाढै रहन्थ्यो
समयसँग चाल नमिल्दा निर्दलको अवसान भयो
परबासमा दुःख काटेको बहुदल सत्तामा गयो
हामी संविधान भन्दा माथि थियौं भित्र गयौं
जनताले तोकि दिएको खान लाउन राजी भयौं
हामीले भित्रका सबै कुरा बोल्न हुँदैन
केही मर्यादा हुन्छन् जो खोल्न हुँदैन ।
लोकले भन्यो बहुदलले पञ्चायतकै सिको ग¥यो
ज्यादै भोको पो रहेछ आफ्नै रित्तो पेट भ¥यो
पञ्चायतको जुठो सोहो¥यो बासी भात खायो
खाना पिना उसको खायो गाना आफ्नै गायो
नीति नियम धोती लायो सारा दुनियाँ हँसायो
खुट्टा तानातानमा रमायो देशमा उधूम मच्चायो
राष्ट्रसेवकलाई राजनीतिको दलदलमा गाड्यो
ट्रेड युनियनका नामले टुक्रा पा¥यो फुटाली छाड्यो
राजनीतिकै रंग दलेर आफ्नालाई सुगम ल्यायो
निमुखा सबैलाई डाँडो कटाइ दुर्गममै पठायो ।
एउटा पात्र थिए बहुदलमा भाषणले देश थर्काउने
शब्द शब्दमा प्राण भर्दै मान्छेका मन फर्काउने
कसले किन फन्दामा पा¥यो नदिमा हालेर मा¥यो
चारैतिर खैलाबैला भयो देशैभर ठूलो भूकम्प गयो
जनसागर उर्लेर आयो सडक ढाकेर करायो
सत्यतथ्य छानबिन आयोग बन्यो त्यसै हरायो
मर्ने मरेर गयो बाँच्नेले मोज गर्‍यो
तब त बहुदलसँग हाम्रो मन मर्‍यो
हामीले भित्रका सबै कुरा बोल्न हुँदैन
केही मर्यादा हुन्छन् जो खोल्न हुँदैन ।

बहुदलको ज्यादती विरुद्ध कसैले कम्मर कस्यो
दुब्लो सानो एउटा समूह वन जंगलमा पस्यो
जंगलमा गिठा भ्याकुर कन्दमुल के के खायो
मोटाएर सप्रीएर ठूलो भीमकाय बन्दै आयो
लुकेर आउँदै हानेर भाग्दै हायल कायल पार्‍यो
जंगल सहर छलाङ मार्नेले बहुदलको बोसो झार्‍यो
आतंककारी व्यवस्था विरोधी बहुदल चिच्याउन लाग्यो
कुट्नुपर्छ भुट्नुपर्छ भन्दै हामीसँग बन्दुक माग्यो
सर्वदा देशको हित सोच्यौं अहित सोच्नै जानेनौं
मनले नखाएको बन्दुकका कुरा हामीले मानेनौं
त्यतिखेर विद्रोहीसँग बसि गाँठो फुकाउनु मन थियोे
तर समयले सँधै नदिको दुई किनार पारिदियो
हामीले भित्रका सबै कुरा बोल्न हुँदैन
केही मर्यादा हुन्छन् जो खोल्न हुँदैन ।

साँझ ढलेको बेलामा पारिवारिक भेलामा
अनाहक भित्र कसले गोली चलायो हाम्रो प्राण गयो
शिकारी रहस्यमा रह्यो बाहिर अनेकन हल्ला भयो
काल बौलाएको बेला कसैको वंश विनाश भयो
भाग्य दुर्भाग्य के हो वंश कसैको सकुशल रह्यो
हतार थियोे कर्फ्यु लगाई लासका लस्कर चलाइयो
मेट्नु थियोे सबै कर्फ्युकै माझमा हामीलाई जलाइयो
आगोको धर्म बल्नु र जलाउनु,
चितामा हुर्कदै दन्केको आगोले हामीलाई खायो
हामी आगोमा खरानी हुँदै गर्दा
यो राज्यमा कसैको भलो नहोस् भनी
कुनै सतीले सरापेको उदगार याद आयो
हाम्रो रगत पानी सरि पोखिंदा जगत कोही बोलेन
वहादुर रहेछन् नेपाली सबै,यथार्थ कसैले खोलेन
गद्दी पाएर श्रीपेच लाएर नजिकका हकदार राजा भए
शक्तिमै त रहेछ भक्ती, सबै बलेकै आगो ताप्न गए
कसैले दिएको खान्न भनेको पनि मान्दैन
अब आफ्नो मर्जी गर्छु अरुका कुरा जान्दैन
श्रीपेचको धाकमा नयाँ राजा जोशिंदै आए
देश डुले मादल बजाए आफ्नै गुणगान गाए
बहुदलले धर्म छोड्दा राजाले ढिपी नछोड्दा
घोर वितृष्णा जागेर जनता आन्दोलनमा उठ्दा
काला मसानहरूको चुरिफुरी र शेखी हरण भयो
तब हिमवत खण्डमा गणतन्त्र सबेरै अवतरण भयो
हामीले भित्रका सबै कुरा बोल्न हुँदैन
केही मर्यादा हुन्छन् जो खोल्न हुँदैन ।

गणतन्त्रको सिङ पुच्छर गाँसेर थुप्रै जाती कुरा भए
उन्नति र प्रगतिका भाषण सुनेर सारा गदगद रमाए
कसलाई के थाहा छलाङ्गेहरू छद्मवेशी छली हुन्छन्
जनइच्छा घाममा सुकाइ दिन्छन् षड्यन्त्रकै जाल बुन्छन
गणतन्त्रका ठेकेदारले कुरा हाँके आकाशका तारा झारे
महंगो संविधान बनाउँदा बनाउँदै देश रित्तो खोक्रो पारे
स्वार्थमा छल कपट मुछेर विद्रुप संविधान बनाए
अस्थिरता रोपे मिठो सपना देखाएर पानी खन्याए
आसाको दियो निभाएर चौतर्फी फैलाए निरासा
देशमा हैकम हुलेर देखाए अकर्मण्यताको तमासा
जुन जोगि आए पनि कानै चिरेका कार्यशैली हेर्दा
व्यवस्था चल्छ कसरी फगत नेताका अनुहार फेर्दा
हामीले बाहिरका पनि सबै कुरा बोल्न हुँदैन
केही मर्यादा हुन्छन् जो खोल्न हुँदैन ।

नेपाली सबै एकै हुन को आफ्नो को विरानो
देश त सँधै देश हो केको नयाँ केको पुरानो
नमच्चिने पिङको सय झटका फुर्ति नयाँ नेपाल
दैत्य नाचेर फुलबारीमा मुलुक भयो यस्तो बेहाल
गतिहीन मतिहीन समयसँग सँधै उल्टो यात्रा
हामी जिवित रहुन्जेल थिएन यस्तो गाइजात्रा
हामीले भित्र बाहिरका सबै कुरा बोल्न हुँदैन
केही मर्यादा हुन्छन् जो खोल्न हुँदैन ।

तुषारो सबै पग्लेर जाओस नेपाल फक्रेर फुलोस
सदाकाल देशबासीमा सद्भाव र एकता रहि रहोस्
धैर्य लिने नेपालीका पाइला सर्वदा शिखरतर्फै बढुन
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

प्रकाशित मितिः   २३ आश्विन २०७८, शनिबार ०५:०१