ग्रामीण बजारमा मनोमानी

जिल्लाका अधिकांश स्थानीय बजारमा बेथिति हुने गरेको छ । ग्रामीण क्षेत्रका बजारहरूमा अखाद्य वसतु बेच्नेदेखि व्यवसाय नै दर्ता नगरेर सञ्चालन गर्ने गरेको पाइएको हो । त्यस्ता किराना तथा खाद्य पसलमा मूल्यसूची समेत राख्ने गरिएको छैन । संयुक्त बजार अनुगमन टोलीले बुधवार पूर्वी सुर्खेतका विभिन्न बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीले मनोमानी गरेको पाइएको हो । सिम्ताको जामुने बजारमा रहेका धेरैजसो पसलमा मूल्यसूची नराखेको भेटिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । अनुगमन टोलीले जामुनेमा तीन वटा पसलले मात्र मूल्यसूची राखेर सामान बिक्री गरेको पाइएको जनाएको छ ।

त्यस्तै, स्थानीय बजारहरूमा म्याद नाघेका अखाद्य वस्तु पनि छ्याप्छ्याप्ती भेटिएका छन् । त्यस्ता अखाद्य वस्तु जफत गरेर नष्ट गरिएको छ । लेबलमा कैफियत भएका र म्याद गुज्रिएका वस्तु अनुगमन टोलीले नष्ट गरेको हो । प्रयोग गर्न योग्य नभएका पेय पदार्थ, नरिवल लड्डु, बेसन, सुजी, दालमोट, कुरकुरे स्न्याक्स, केक, मशला, चिप्स, चिउरालगायत सामग्री जफत गरिएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले गुणस्तरहीन सामान बेच्ने पसललाई एक हप्ता भित्र मूल्यसूची राख्न, लेबल हेरेर खरिद बिक्री गर्न, खाद्य र अखाद्य वस्तु अलग–अलग राख्न निर्देशन दिएको जनाए । उनका अनुसार म्याद नाघेका तथा लेबल कैफियत भएका वस्तु बिक्री गर्ने पसललाई स्थानीय तहको अनुगमन समितिलाई निगरानी राख्न सुझाव दिइएको छ ।

प्रकाशित मितिः   २१ आश्विन २०७८, बिहीबार ०५:०१