२६ वर्षदेखि फरार अभियुक्त पक्राउ

२६ वर्षदेखि फरार जाजरकोट सालमा–९ का ६२ वर्षीय प्रेमबहादुर थापा पक्राउ परेका छन् । जिल्ला अदालत जाजरकोटले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त थापालाई शुक्रबार कारागार पठाएको छ ।

थापालाई प्रहरी निरीक्षक सुभाष भट्टको टोलीले दसेरा–८, थलहबजारबाट पक्राउ गरेर अदालतमा बुझाएको थियो । थापाले २०४७ सालमा साल्मा–९ का आइते रावतलाई हत्या गरेका थिए । सोही ठाउँका मन्दिरे रावतको कर्तव्य ज्यान मुद्दासम्बन्धी जाहेरीले प्रतिवादी थापालाई जिल्ला अदालतले मुलुकी ऐन ज्यान सम्बन्धित महल १३ ९३० बमोजिम कसूर ठहर गर्दै जन्म कैद सजायको फैसला गरेको थियो ।

त्यस्तै, ६ महिनाअघि प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भीमबहादुर कामीलाई १८ वर्षपछि र ज्यान मार्ने उद्योगका फरार अभियुक्त भेरीमालिका नगरपालिका–२, डिङ्गाका ८० वर्षीय टेकबहादुर थापालाई ४३ वर्षपछि पक्राउ गरेर कारागार पठाएको थियो ।

अदालतले फैसला कार्यान्वयनमा ताकेता गरेपछि प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न लागेको श्रेस्तेदार नेत्रप्रसाद भुसालले बताए । जाजरकोटमा १ सय ५० व्यक्तिको ३ सय ५० वर्ष कैद र १० लाख जरीवाना फछ्र्यौट गर्न बाँकी रहेको श्रेस्तेदार भुसालले बताए ।