भुलभुलैयामा
इन्द्रेणीजस्तो लाग्ने जीवन
हावाजस्तो लाग्ने समय
निरंकुश मानसिकताबाट
प्रताडित मन
गइरहेछ एउटा उद्देश्य खोज्न
सफर नभेटाएको तुफान जसरी
बाटो खोज्न हिंडेको पानी जसरी ।
-जिवन कहाँकहाँ पुगेन
-समय कहाँकहाँ पुगेन
-मन कहाँकहाँ पुगेन ?
म जन्मेको ठिक एक सेकेण्डपछि देखि
बा’ले रोपिराखेको कर्तव्य
आमाले उमारीराखेको माया
बाजेले जोगाइराखेको सद्भाव
पढेर भएपनि
जिवन
मनको सगरमाथामाथिसम्म
उक्लन सकेन
समयले
जीवनको सार्थक पर्खाल नाघ्न सकेन
र, नाघ्न सकेन जीवनले पनि ।
आज बुढो गोरुजस्तो
थला परेको देशमा बसेर
कसरी बदल्न सकँ र जीवन ?
कसरी हिँडु र ? समयको बाटो
कसरी सम्झाउँ र मनलाई ?
तरपनि
झिनो आशा बोकेर
समावेश भएको
विश्वबिद्यालको परिक्षार्थीझैँ
जिन्दगिलाई
हत्केलामा राखेर
सिमानाको सुरक्षार्थ खटिएको
कुनै बहादुर सिपाहीझैँ
जीवन जीवन खोज्न दौडिरहेछ
समय समय खोज्न दौडिरहेछ ।
आज
बाजेको कथाभन्दा फरक
बा’को इतिहासभन्दा नयाँ
लेकको गोठ सिंगारेर
बेँशीको खोरिया फाँडेर
पहाडको पथ्थर फोडेर भएपनि
यहिँ बनाउँछु समयको बाटो
यहिँ निर्माण गर्छु जीवनको घर
र यहिँ अड्याउँछु मनलाई ।
साझा बिसौनी ।