रोहितको पर्खाइ

roसन् २०११ मा भारतमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलअघि नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक ग्राह्म रोवर्टसले भनेका थिए, ‘नेपाली टोलीको अबको रक्षापंक्तिमा केही गर्न सक्ने कोही खेलाडी छ भने त्यो रोहित चन्द हो ।’ रोवर्टसको उक्त भनाइलाई रोबहितले पछिल्लो पाँच वर्ष न्याय पनि गरे ।

चर्चित इङ्लिस क्लब टोट्टनहामका पूर्वखेलाडीसमेत रहेका रोवर्टसको कडा अनुशासनलाई अनुसरण गर्ने रोहित मुख्यपात्र थिए । त्यतिबेला रोबर्टसको कडा प्रशिक्षण शैलीलाई टोलीका अधिकांश खेलाडी मन पराउँदैनथिए । नेपाली फुटबल खेलाडीमा अनुशासनको कमी भएको विषय त्यतिबेलै बाहिर आएको थियो । त्यसैले नै रोवर्टस सबैभन्दा पहिले टोलीलाई अनुशासनको पाठ सिकाउन चाहन्थे ।

रोवर्टसको कडा अनुशासनमा राष्ट्रिय टोलीमा चम्किने अवसर पाएका रोहित विगत एक वर्षदेखि मैदानबाहिर छन् । बायाँ घुँडाको चोट (मिनिस्कस एसिएल ग्रेट थ्री) का कारण उनी चाहेर पनि मैदानमा फर्कन सकेका छैनन् । पुनेमा गत वर्ष भएको साफ च्याम्पियनसिप खेल्न जानुअघि त्रिभुवन आर्मी क्लबसँग खेलिएको तयारी खेलका क्रममा रोहितको बायाँ खुट्टामा सामान्य चोट लागेको थियो । तर त्यसलाई बेवास्ता गर्दै उनी मैदानमा डटिरहे ।

‘त्यतिबेलै लङ सट र पावर सट हान्दा केही दुख्थ्यो तर, पनि मैले खेल्न छाडिनँ । साफ सकेर फर्किएपछि एमआरआई गराउँदा डाक्टरले चार साता आराम गर्न सल्लाह दिए । आरामपछि मलाई मलेसियाको उच्च डिभिजन क्लब टिटिम तेरङगानोबाट व्यावसायिक फुटबल खेल्ने अफर आयो’ उनले भने । टिटिम सन् २०१५ को मलेसियन प्रिमियर लिगमा दोस्रो भएको थियो । टिटिमले सुपर लिग पनि खेल्यो । सुपर लिग खेल्नेक्रममा एक दिन विपक्षी टोलीका खेलाडीले खतरनाक ट्याकल गर्दा रोहितको बायाँ घुँडामै नराम्रो चोट लाग्यो । ‘त्यसपछि मैले ८० मिनेट खेलेर मैदान छाडेँ । मलेसियाको लिग खेल्ने सबै खेलाडीका लागि इन्सुरेन्स गरिने भएकोले इन्सुरेन्स कम्पनीले नै मेरो उपचार गरिदियो । घुँडाको शल्यक्रियापछि म अहिले आराम गरिरहेको छु । डाक्टरले कम्तीमा नौ महिला आराम गर्न सल्लाह दिएका छन् । खेल्न मिल्ने भएकोले अहिले बिहान दैनिक एन्फामा अभ्यास, दिउँसो दुई घन्टा जिम र सातामा तीनपटक ग्रान्डी अस्पतालमा फिजियोथेरापी गरिरहेको छु । डाक्टरले विस्तारै खेल्न हुने बताएका छन् । अब छिट्टै मैदानमा फर्कने योजना बनाएको छुु’, रोहित भन्छन् ।

रोहित नेपाली फुटबलसँग प्रत्यक्ष गाँसिएको १२ वर्ष भयो । सुर्खेत वीरेन्द्रनगरका उनी बाल्यकालका चर्चित क्रिकेट खेलाडी थिए । घरछेउको कालिञ्चोक मैदानमा उनी धेरैजसो क्रिकेट खेल्थे । त्यो मैदानमा फुटबलको माहोल पनि राम्रै थियो । सुरुमा उनले क्रिकेट र फुटबललाई सँगसँगै अगाडि बढाएका थिए । क्रिकेटमा क्षेत्रीय प्रतियोगितासम्म खेले । फुटबलमा पनि उनको लगाव राम्रो थियो । सुर्खेतमा त्यतिबेला जिविस कप फुटबल हुन्थ्यो । २०६१ सालमा काठमाडौंमा यू-१४ फुटबल प्रतियोगिता भयो । उनी त्यो प्रतियोगिता खेल्न सुर्खेतबाट छनोट भए । एकैपटक काठमाडौं आएर खेल्न पाउँदा उनी खुसीले गद्गद् भएका थिए रे । रोहितको खेलले त्यतिबेला एन्फाका प्राविधिक निर्देशक श्याम थापाको मन पनि तानेछ ।

त्यसपछि रोहितलाई एन्फा एकेडेमीले छनोट खेलका लागि बोलायो । ‘एकेडेमीमा छनोट हुन देशभरका खेलाडीबाट ३५ भित्र पर्नुपथ्र्यो, जसका लागि मैले कम्ती मेहनत गर्नु परेन । चारपाँच दिन राम्रो खेलेपछि ३५ भित्र पर्न सफल भएँ । एकेडेमीमा छिरेपछि मेरो खेलले निखारमा पायो’ उनी भन्छन् । एकेडेमीमा पाँच वर्ष बिताएका रोहितले त्यहीँबाट एसएलसी र दस जोड दुईको पढाइ पनि पूरा गरे । एन्फा एकेडेमीमा पढ्ने माहोल थिएन । धेरैले खेलाडीले पढाइभन्दा खेललाई महत्त्व दिने । रोहितको टोलीमा रहेका विशाल श्रेष्ठ, नवीन महर्जन र जगजित श्रेष्ठ पढाइमा अलि ध्यान दिन्थे । रोहितले पनि विस्तारै विशालको संगत गरे ।

‘विशाल अरूभन्दा पढाइमा चलाख थियो । विशालकै संगतले मैले एसएसली फस्ट डिभिजनमा पास गरे । पछि दस जोड दुई पनि पूरा गर्न सकेँु, रोहित भन्छन् ।एन्फा एकेडेमीबाट जुनियर अवस्थामै रोहितले ब्रिगेड ब्वाइज क्लबबाट ‘ए’ डिभिजन लिग खेले । उनी इमानदार र अनुशासित भएकोले होस्टेलदेखि नै सबैले उनलाई मन पराउँथे । त्यसपछि उनले २०६७ सालमा मच्छिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिग खेले । त्यतिबेला एन्फा एकेडेमीबाट उत्पादन भएका खेलाडीलाई मनाङ मस्र्याङ्दी, मच्छिन्द्र र संकटा क्लबले बाँडेर लिएका थिए ।

२०६८ सालको लिग भने रोहितले मनाङबाट खेल्ने सम्झौता गरे । तर उनले मनाङसँग बाहिरबाट अवसर आए छाड्न पाउने सहमति गरेका थिए । नभन्दै उनलाई भारतको बैंगलोरस्थित हल स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल खेल्ने अवसर आयो । उनले एक सिजन हलबाट आई लिग ९इन्डियन लिग० खेले । त्यतिबेला नेपालका अनिल गुरुङ पनि सिलोङ लाजोङबाट व्यावसायिक फुटबल खेल्थे ।

रोहितको खेलले विस्तारै दक्षिण एसिया पार गर्‌यो । अर्को सिजन उनले इन्डोनेसियाको पीएसपीएस पकनबरुबाट सुपर लिग खेले । पीएसपीएसमा एक सिजन खेलेपछि उनी अर्को सिजन इन्डोनेसियाकै पर्सिजा जार्कातामा अनुबन्ध भए, जहाँ उनको मासिक तलब तीन लाख रुपैयाँ थियो । त्यतिबेला उनी नेपालका महँगा फुटबलर थिए । पर्सिजाबाट खेल्दै गर्दा उनले डेनमार्कको एफसी भेजुल्यान्डमा ट्रायल र प्रशिक्षणको अवसर पाए । त्यहाँ भारतका चर्चित फुटबलर सुब्रोतो पल पनि खेल्थे । सुब्रतोको ६ महिना कन्ट्रयाक्ट थियो तर, रोहितलाई त्यहाँ पारिश्रमिक बिना नै खेल्ने अफर आयो । उनले मानेनन् र पुनः पर्सिजा फर्किए ।

पर्सिजामा फर्किएपछि केही समयमै विश्व फुटबल महासंघ ‘फिफा’ ले इन्डोनेसियाको फुटबल संघलाई प्रतिबन्ध गर्‌यो । त्यसपछि उनी नेपाल फर्किए । मनाङबाट खेल्ने फेरि अफर आयो तर, रोहितले अन्तिममा खेल्न पाएनन् त्यो उनलाई किन भन्ने अझैसम्म थाहा छैन । चार महिना त्यत्तिकै बसेर व्यावसायिक फुटबलका लागि मलेसियाको टिटिममा अनुबन्ध भएका रोहित खेलकै क्रममा त्यही घाइते भए । र उपचार पछि आराममा रहे । लामो खेल यात्रामा रोहितलाई नरमाइलो लागेको क्षण भने नेपालमा सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानसँगको खेल हो ।

सेमिफाइनलमा अफगानिस्तानसँग पाएको पेनाल्टी सट दुई पटकसम्म मिस गरेपछि उनी धेरै आलोचित भए । ुमलाई त्यतिबेला धेरै नरमाइलो लागेको थियो । धेरैले नराम्रोसँग गाली पनि गरे । कतिले अझै राम्रो गर्न सक्छन् । खेलमा मिस हुनु स्वाभाविक भनेर सान्त्वना पनि दिए । त्यसपछि मेरो खेल र आत्मविश्वास झनै बढ्यो । गल्तीले मानिसलाई झनै सिकाउने रहेछु, उनी भन्छन् ।

रोहित मैदानबाहिर रँहदा नेपाली राष्ट्रिय टोलीले तीनवटा उपाधि चुम्यो । बंगबन्धु गोल्ड कप, १२ औं दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण र मलेसियामा हालै सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जित्दा रोहित रोजाइका रक्षक भएर पनि बाहिरै बस्नु पर्‌यो । उपाधिसँगै तीनवटै खेलमा रहेका प्रत्येक खेलाडीको हातमा अखिल नेपाल फुटबल संघ (एन्फा), सरकार र निजित तथा सार्वजनिक संघसंस्थाबाट पुरस्कारस्वरूप ४० लाख रुपैयाँ पर्‌यो । चोटका कारण मैदानबाहिर रहेका रोहित यसलाई नियतिको खेल मान्छन् । ‘मैदान बाहिर हुँदा केही खल्लो त हुने रहेछ तर, नेपाली फुटबल टोलीले जित्दा मैले आफूलाई टोलीमै खेलिरहेको अनुभूति गरेँ । नेपाली टोलीले उपाधि नजितेको धेरै भएको थियो । यस उपाधिले टोलीलाई थप जोसिलो बनाएको छ । अहिले टोलीमा नयाँ र जोसिला खेलाडी छन् । मेहनत गरेको खण्डमा हामीले अझै बलियो खेल जित्न सक्छौ’ रोहित भन्छन् ।

सन् २००९ मा भएको एएफसी च्यालेन्ज कप छनोट खेलअन्तर्गत प्यालेस्टाइनविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहित भर्खर २५ वर्षका भए । राष्ट्रिय टोलीबाट उनले ४० भन्दा बढी खेल खेलेका छन् । उनी अहिले खेल्नका लागि पूर्ण फिट भइसकेका छन् । उनी राम्रो अवसरको पर्खाइमा पनि छन् । ‘राष्ट्रिय टोलीले अब आगामी साफ च्याम्पियनसिप खेल्छ होला । घरेलु लिग नहुँदा सबै खेलाडी बेकामी बन्ने अवस्था छ । राष्ट्रिय टोलीका राम्रा खेलाडी विभिन्न गोल्ड कपमा रमाइरहेका छन् । यसले हाम्रो स्तर घट्छ । खेलाडी पनि घाइते हुने उत्तिकै सम्भावना रहन्छ । लिग सञ्चालनका लागि एन्फाले ध्यान दिनुपर्छ । लिग भएन भने नेपाली फुटबलको स्तर माथि जाँदैनु’ उनले सुझाए ।

एक वर्षको अन्तरालमा नेपाली फुटबलमा धेरै उथलपुथल भएको छ । नेपाली फुटबल खेलाडीमा खेल मिलेमतोको घटना सार्वजनिक भएपछि रोहितलाई पनि नखाएको विष लाग्छ कि भन्ने धेरै डर थियो रे । समाचार सुन्दा र पढ्दा उनी धेरै अत्तालिएका थिए । अहिले राष्ट्रिय टोलीमा युवा खेलाडीको वर्चस्व रहेको र खेलाडीको प्रदर्शन पनि बढेकोमा उनी सन्तुष्ट छन् । तर यसबीचमा नेपालले उपाधि जिते पनि बलियो प्रतिद्वन्द्वीसँग भिड्न नपरेको रोहितको बुझाइ छ । ‘हामीले उपाधि त जितेका छौं । तर हाम्रो स्तर दक्षिण एसियाभन्न्दा माथि गएको छैन । बलियो टिमसँग खेलेर अझै हामीले उपाधि जित्न सकेका छैनौं । दक्षिण एसियामा भारत हामीभन्दा माथि छ । उसलाई पछि पारेर एसियाली स्तरमा राम्रो गर्न सक्नुपर्छ । म भर्खर कमब्याक भएको छु । टोलीमा अटाउनेमा विश्वस्त पनि छु । हाम्रो पहिलो लक्ष्य फेरि साप च्याम्पियनसिपको उपाधि जित्नु हो’  उनले भने ‘त्योसँगै हामीले अझ धेरै गर्न बाँकी छ ।’

अन्नपुर्णबाट

प्रकाशित मितिः   २५ मंसिर २०७३, शनिबार १४:०१