निःशुल्क उपचार लिने नै न्यून

यो वर्षका लागि अझै भएन सम्झौता, कार्यविधि परिमार्जन हुँदै

यो वर्षका लागि अझै भएन सम्झौता, कार्यविधि परिमार्जन हुँदै

अस्पतालका प्रतिनिधिहरूसँग सम्झौता गर्दै तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी । फाइल फोटो

कर्णाली प्रदेश सरकारले जनआन्दोलन, सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उपचार गर्ने कार्यक्रम ल्यायो । त्यसका लागि गत आर्थिक वर्षमा प्रदेशमा रहेका दुई र अन्य तीन अस्पतालसँग सम्झौता गरियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, वीर अस्पताल काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत घाइते तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार गर्ने गरी सम्झौता गरेको थियो । सम्बन्धित अस्पताललाई उपचारका लागि दश लाख रूपैयाँ अख्तियारी पनि दिइयो । तर, फागुनबाट सुरू भएको उक्त कार्यक्रम भने प्रभावकारी हुन सकेन । लक्षित वर्गका न्यून व्यक्तिहरूले मात्र उपचार सेवा लिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत आर्थिक वर्षमा लक्षित वर्गका एक जनाले मात्र उपचार सेवा लिएको तथ्याङ्क छ । त्यस्तै, प्रदेश अस्पतालबाट २४ जनाले उपचार पाएका छन् । उपचार लिएकामध्ये अधिकांश सशस्त्र द्वन्द्वका बेला घाइते भएकाहरू हुन् । सरकारले सम्झौता गरेका प्रदेश बाहिरका अस्पतालमा सेवा लिन जानेको संख्या झनै थोरै छ । आर्थिक वर्षको आधा अवधि सकिएपछि कार्यक्रम लागू गरिँदा सेवा लिनेको संख्या कम भएको हो । आवश्यक सूचना नपाउँदा पनि लाभग्राहीहरू उपचारबाट वञ्चित भएका हुन् ।

तोकिएका लक्षित वर्ग उपचार लिन खासै नआएको सामाजिक सुरक्षा इकाई जुम्लाका प्रमुख खगेन्द्रप्रसाद उपाध्याय बताउँछन् । सरकार आफैँले अस्पतालसँग सम्झौता गरेर तोकिएका पाँच वटा अस्पतालमा उनीहरूको उपचार निःशुल्क गर्ने भनेता पनि उपचार लिनेको संख्या न्यून देखिएको हो । चालु आर्थिक वर्ष सुरू भएको झन्डै तीन महिना हुनै लाग्दा सरकारले यो वर्षका लागि अस्पतालसँग उपचार सम्झौता गरेको छैन ।

प्रदेश सरकारले ‘घाइते उपचार कार्यविधि–२०७७’ मा तोकिए बमोजिम विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको रोगको प्रकृति अनुसार उपचार सेवा दिने बताएको थियो । कार्यविधिमा बिरामी अस्पताल बस्नुपर्ने भएमा उपचारको अवधिसम्म खाना तथा बास खर्च अस्पतालले कोषमार्फत बेहोर्ने गरी खर्चिनुपर्ने भनिएको छ । अस्पतालले घाइते वा अपाङ्गता भएका व्यक्तिहरूलाई उपचारका लागि आवत–जावत गर्दा लाग्ने खर्च पनि उपलब्ध गराउने सम्झौता छ । त्यस्तै, जटिल प्रकृतिको बिरामीका कुरुवाको पनि एक हजार पाँच सय रूपैयाँ यातायात खर्च बेहोर्ने भनिएको छ । उपचार सुविधा कर्णाली प्रदेशभित्र स्थायी बसोबास गर्नेले पाउने कार्यविधिमा उल्लेख छ । निःशुल्क उपचारका लागि घाइते वा अपाङ्गता व्यक्तिले विवरण खुल्ने कागजात, परिचय–पत्र तथा नेपाल सरकारले दिएको कुनै आधिकारिक कागजात पेस गर्नुपर्ने हुन्छ ।

यो वर्षका लागि अस्पतालहरूसँग सम्झौता गर्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलका प्रवक्ता तुलबहादुर खड्काले बताए । ‘बढीमा एक साता समय लाग्ला,’ उनले भने, ‘हामीले अस्पतालसँग सम्झौताका लागि तयारी गरिरहेका छौं ।’ गत वर्षको कार्यविधि केही परिमार्जन गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको उनको भनाइ छ । प्रदेशभर सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनमा अंगभंग भएका र घाइते तथा अपाङ्गको पहिचान बनाएका झन्डै १२ हजार नागरिक छन् । तीमध्ये उपचार गरिनुपर्ने करिब सात सय बढी रहेको कानुन मन्त्रालयको तथ्याङ्क छ ।

यसअघि घाइते तथा अपाङ्गको वर्गीकरण अनुसार उपचार खर्च वापत पीडितलाई रकम दिँदै आएकोमा दुरूपयोग भएको भन्दै सरकारले अस्पतालसँग सम्झौता गरेर सिधै उपचार सेवा दिने नीति लिएको हो । सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्ति र उनका परिवार लाभान्विन हुने अपेक्षा सरकारको थियो । लाभग्राहीले नै चासो नदिएपछि सरकारले ल्याएको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

प्रकाशित मितिः   २० आश्विन २०७८, बुधबार ०५:००