ट्राफिक व्यवस्थापन योजना

ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चाडपर्वमा हुने सवारी साधनको चाप व्यवस्थापनका लागि विशेष योजना बनाएको छ । दसैँ–तिहार र छठपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सुरक्षा योजना ल्याएको हो । जनशक्तिको अधिकतम परिचालन गरी प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा ट्राफिक व्यवस्थापन मजबुद बनाइने जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ‐प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आर्चालले चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले व्यवस्थापनका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको बताए । उनका अनुसार यही भदौ १५ गतेबाट उक्त योजना लागू गरिएको हो ।

ट्राफिक प्रहरीले भिडभाड हुने स्थल र बस टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न जिल्लाका तीन वटा ठाँउमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेको छ । प्रहरी निरीक्षक आचार्यले खासगरी सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिएर काम गरिने जनाए । भाडादरमा ठगी नहोस् भनेर प्रहरीले यातायात व्यवसायी र सार्वजनिक सवारी साधनका चालकलाई गाडि तथा टिकट काउन्टरमा प्रष्ट देखिने गरी अनिवार्य भाडा दररेट टाँस गर्न अनुरोध गरेको छ । त्यस्तै, दुर्घटना न्यूनीकरणका लागि मुख्य चोक र बजार एरियामा दैनिक मापसे चेकिङ हुने जनाइएको छ । ‘शान्ति सुरक्षा र यात्रुहरूलाई आउजाउमा सहज बनाउन विशेष व्यवस्थापन योजना ल्याइएको हो,’ आचार्यले भने ।

मोटरसाइकल चालकले हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी हाँक्ने, यात्रुबाट बढी भाडा असुल्ने र ओभरलोड बोक्नेजस्ता गतिविधि गरेको पाइएमा कारबाही गरिने प्रहरीले जनाएको छ । जिल्लाका सीमा नाका, व्यापारिक क्षेत्रहरू भिडभाड तथा बसपार्क एरियामा चाडपर्वमा थप जनशक्ति परिचालन गरिएको छ । त्यसका लागि दसैँ अवधिभर जिल्लामा ८१ जना ट्राफिक प्रहरी खटिने छन् ।

प्रकाशित मितिः   २० आश्विन २०७८, बुधबार ०५:००