केबुल नेटवर्कका तार काटिए

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका पोल प्रयोग गरेर तानिएका केबुल नेटवर्कहरूका तारहरू हटाउन थालिएको छ । पोलमा जथाभावी तार राखिँदा वीरेन्द्रनगरको सहरी सौन्दर्य तथा दुर्घटनाको जोखिम हुने भन्दै त्यस्ता तार हटाउन सुरू गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणले पोल प्रयोग गरेका केबुल नेटवर्कहरूसँग पटक–पटक सम्झौता गर्न सूचना जारी गरेपनि अटेर गरेपछि तारहरू काट्न थालिएको छ । केबुल नेटवर्कहरू सम्पर्कमा नआएपछि शनिवारदेखि आइएसपिका लाइनहरू धमाधम काट्न थालिएको विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यसअघि सरोकारवाला पक्षसँग छलफल गरी तार व्यवस्थापन गर्न आग्रह गरेको थियो ।

विद्युुत प्राधिकरण सुुर्खेत वितरण केन्द्र प्रमुख युवराज रावतले सूचना गर्दा एनसेल मात्र सम्पर्कमा आएको बताए । अन्य केबुल नेटवर्कहरूले बेवास्ता गरेको उनको भनाइ छ । वीरेन्द्रनगरको रेडियो नेपाल र तातापानी एरियामा विद्युतका पोलबाट लाइन लिएका केबुल नेटवर्कका तार काटिएको छ । रावतका अनुसार जिल्लामा करिब ११ वटा केबुल नेटवर्कहरू रहेका छन् । ती सबैजसोले विधुतकै पोल प्रयोग गर्ने गरेका छन् । ‘भेटिएका सबै नेटवर्कका लाइनहरू काटिएको छ । सबै ठाउँबाट त्यस्ता तारहरू हटाइने छ,’ उनले भने ।

प्रकाशित मितिः   १८ आश्विन २०७८, सोमबार ०५:००