विश्वविद्यालय र प्राध्यापक संघबीच सहमति
संयुक्त रूपमा आन्दोलित प्राध्यापक संगठनले विश्वविद्यालयसँग सहमति गर्दा भने आ–आफ्नो अनुकुल गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालय (एमयू) र आन्दोलनरत एक प्राध्यापक संगठनबीच सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले आठबुँदे सहमति गरेका हुन् । सहमतिसँगै झन्डै तीन महिनादेखि आन्दोलित नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
विश्वविद्यालय प्रशासन समक्ष विभिन्न माग राखि विश्वविद्यालयमा क्रियाशील प्राध्यापकहरूका तीन वटा संगठनले आन्दोलन गरिरहेका थिए । संयुक्त रूपमा आन्दोलित प्राध्यापक संगठनले सहमति भने आ–आफ्नो अनुकुल गरेका हुन् । विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनवर्हालीलगायतका शैक्षिक माग राखि नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र आंशिक प्राध्यापक संगठन आन्दोलित बनेका थिए ।
विश्वविद्यालयद्वारा गठित वार्ता समितिका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका अनुसार नेपाल प्रजातान्त्रिक प्राध्यापक संघसँग विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका रिक्त पदमा सबै पक्षलाई अपनत्व हुने गरी पदपूर्ति गर्नुपर्ने सहमति गरिएको छ । त्यस्तै, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी प्रक्रिया थाल्ने सहमति भएको छ । त्यसका लागि एघारौं सभा सम्पन्न भएपछि ४५ दिनभित्र कार्यविधि निर्माण गर्ने गरी सहमति जुटेको खड्काले बताए ।
करार जनशक्तिको प्रोत्साहनस्वरूप नियमित तलब भत्ता समेट्ने गरी कार्यविधिमा तहगत दररेट निर्धारण गर्ने प्रक्रिया अघि बढाउने, प्राध्यापक तथा कर्मचारीको निवृत्तिभरण र उपदानका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर नियमावली र कार्यविधि पारित गर्ने पनि सहमति गरिएको छ । वार्तामा आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक संघ एमयू केन्द्रीय समितिका अध्यक्ष रूपेश खत्री, उपाध्यक्ष छवि भण्डारी र कोषाध्यक्ष हरेन्द्र केसी सहभागी थिए ।
उच्चस्तरीय समितिका अनुसार नेपाल राष्ट्रिय प्राध्यापक संगठन र आंशिक प्राध्यापक संगठनसँग पनि सहमति नजिक पुगिएको छ । ‘करार र आंशिक प्राध्यापकहरूका माग पूरा भइसकेका छन्,’ समितिका सदस्य खड्काले भने, ‘राष्ट्रिय प्राध्यापक संगठनसँग पनि पेशागत मुद्दामा मोटोमाटी सहमति भएको छ । उहाँहरूका केही मागमा भने छलफल जारी छ ।’ बर्खास्तीमा परेका प्राध्यापकको पुनर्वाहलीको विषयमा राष्ट्रिय प्राध्यापक संगठनसँग सहमति जुट्न नसकेको उनले जनाए । अहिले विश्वविद्यालयको प्रमुख प्रशासनिक भवनमा लगाइएको ताला खुलेको छ । दैनिक प्रशासनिक कार्यसम्पादनमा कुनै बाधा नरहेको विश्वविद्यालयले जनाएको छ ।
प्रकाशित मितिः १७ आश्विन २०७८, आईतवार ०५:०३
साझा बिसौनी ।