ज्येष्ठ नागरिकको संरक्षण

सामान्यतः ६० वर्षमाथिको उमेर समूहका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । अर्थात् यो वृद्धावस्था हो । हरेक व्यक्ति आफ्नो उर्जावान समय बिताएर बढ्यौलीमा पुग्छ । यो ध्रुवसत्य हो । जात, लिङ्ग, धनी–गरिब वा अन्य कुनै पनि कारणले वृद्ध हुनबाट रोक्दैन । यद्यपि हाम्रो समाजमा अहिले पनि बुढ्यौली अवस्थालाई उपेक्षा गर्ने गरिएको पाइन्छ । उमेर बढ्दै जान्छ, शारीरिक उर्जा घट्दै जान्छ, त्यही समयमा आफन्तबाटै लखेटिएर बाँच्नुपर्ने अवस्थामा अहिले पनि धेरै ज्येष्ठ नागरिक पुगेका छन् । वृद्धाश्रमहरू यसैका उदाहरण हुन् ।

ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी हुन् । उनीहरूको लामो अनुभव छ, जुन ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई उपयोगी र मार्गदर्शक बन्न सक्छन् । यसकारण उनीहरूलाई खुला पुस्तकालय हुन् पनि भन्ने गरिन्छ । तर त्यसको सदुपयोग हुन सकेको छैन । हुन त सबैतिर ज्येष्ठ नागरिकको त्यो ज्ञान, सीप र अनुभव पुस्तान्तरणको चर्चा हुने गर्दछ । यस्ता चर्चा एकातिर छन् तर अर्कोतिर कस्तो विडम्बना छ भने घरबाट ज्येष्ठ नागरिक लखेटिने श्रृंखला जारी नै छ । जन्माउने, हुर्काउने र उज्ज्वल भविष्यको बाटो देखाउने अभिभावक आफ्नै सन्तानबाट हेपिएका छन् । भुल्न नहुने कुरा के हो भने प्रत्येक वृद्घ व्यक्तिले आफ्ना सन्तानको पालन पोषण, शिक्षा–दिक्षा, सामाजिक दायित्व पूरा गर्दै राष्ट्रका लागि समर्पित भएर योगदान गरेको हुन्छ । तर जब शारीरिक र मानसिक रूपमा अशक्त हुन्छ तब परिवारबाटै उपेक्षित हुनुपरिरहेको छ । यस्तो बेला समाज र राज्यले ज्येष्ठ नागरिकमाथि कुनै न कुनै प्रकारले सेवा सुविधा उपलब्ध गराउन सक्नुपर्दछ । लोक कल्याणकारी राज्यको परिकल्पना पनि यसकारण नै गरिएको हो ।

नेपालको संविधान २०७२ मौलिक हकअन्तर्गत भाग ३ को धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ । उनीहरूको संरक्षणको पहिलो दायित्व परिवारको हो । सँग–सँगै समाज र राज्यको पनि । राज्यको तर्फबाट गरिएका ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्था हेर्ने हो भने राम्रो भए पनि त्यसको कार्यान्वयन पक्ष ज्यादै फितलो छ । ऐन, नियमावली, कार्यविधि बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनुले, ज्येष्ठ नागरिकले पाउने कानुनी सेवा सुविधाबाट वञ्चित हुँदै गइरहेका छन् । यस्तो कानुनी प्रावधानलाई समय सापेक्ष संशोधन गर्न नसक्नाले ज्येष्ठ नागरिकको समस्या दिनानुदिन विकराल बन्दै गइरहेको छ ।

ज्येष्ठ नागरिकप्रति उनीहरूको परिवार र राज्य दुवैको उत्तिकै महŒवपूर्ण दायित्व हुन्छ । जसरी ज्येष्ठ नागरिकले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रप्रति समर्पण गरेको हुन्छ । त्यसरी नै परिवार, समाज र राष्ट्रले दायित्व बहन गर्नुपर्ने परिस्थितिको निर्माण गर्नुपर्ने देखिन्छ । समाजले ज्येष्ठ नागरिकले ज्ञान, सीप दक्षतालाई ग्रहण गर्दै सम्मान गर्ने र राष्ट्रले ज्येष्ठ नागरिकका सम्पूर्ण सेवा सुविधाको व्यवस्था गर्ने हो भने ज्येष्ठ नागरिक सम्मानपूर्वक बाँच्न पाउने छन् ।

प्रकाशित मितिः   १७ आश्विन २०७८, आईतवार ०५:००