साल्ट ट्रेडिङ्गमा चिनी नहुँदा उपभोक्ता मारमा


चाडपर्वलक्षित गरी सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतमा चिनी छैन । उक्त कार्यालयबाट यसपटक चिनी नपाइने भएको हो । साल्ट ट्रेडिङ्गमा चिनी नभएपछि यसको मूल्य बजारमा आकासियको छ ।

कार्यालयले चिनी प्रतिकेजी ८५ रूपैयाँमा बिक्री गथ्र्यो । अहिले बजारमा चिनीको प्रतिकेजी एक सय रूपैयाँसम्म पर्छ । साल्ट ट्रेडिङ्गले उपलब्ध गराउन नसकेपछि उपभोक्ताहरू महँगो मूल्यमा बजारबाट चिनी किन्न बाध्य छन् । सुपथ मूल्यमा चिनी नपाइएपछि उपभोक्ता त्यसको प्रत्यक्ष मारमा परेका हुन् ।

अघिल्ला वर्षहरूमा दसैँ–तिहार चाडमा सहुलियतमा नुन र चिनी बिक्री–वितरण गर्दै आएको कार्यालयले यसपटक चिनी उपलब्ध नभएको जनाएको छ । साल्ट ट्रेडिङ्गले अहिले नुन मात्र बिक्री गरिरहेको हो । विगतका वर्षहरूमा चाडपर्व लक्षित सहुलियतमा नुन–चिनी बिक्री गरिँदै आएको थियो । एक जनालाई ६ केजी नुन र दुई केजी चिनी दिने गरिएको थियो । साल्ट ट्रेडिङ्गले चिनी अभावका कारण अहिले प्रतिव्यक्ति ६ केजीका दरले नुन मात्र बिक्री गरिरहेको छ । नयाँ आपूर्ति नभएको र गोदाममा स्टक पनि सकिएकाले उपभोक्तालाई चिनी उपलब्ध गराउन नसकिएको निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले बताए ।

चिनी खरिदका लागि वैशाखमा नै टेन्डर गरिएको थियो । तर, अर्थ मन्त्रालयले खरिदका लागि स्वीकृति नदिँदा चिनी आयात हुन नसकेको कार्यालयले जनाएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतको गोदाममा अहिले नुन मात्र छ । गएको असार ४ गतेबाट प्रतिव्यक्ति ६ केजीका दरले प्रतिकेजी १८ रूपैयाँमा नुन मात्र बिक्री गर्ने गरिएको हो । निमित्त प्रमुख चौधरीका अनुसार वीरेन्द्रनगरस्थित गोदाममा झन्डै तीन हजार क्वीन्टल नुन मौज्दात छ ।


भिडियाे सहित

 

प्रकाशित मितिः   १५ आश्विन २०७८, शुक्रबार ०५:०१