आफन्तबाटै अपहेलित

‘बुढेउलीमा हामी किन बोझ ?’

‘बुढेउलीमा हामी किन बोझ ?’

गेट खोल्ने बित्तिकै कौसीबाट चियाइन मंगलमाया घिमिरे । आश्रम प्रवेश गर्ने गेटको आवाज आयो कि झट्ट उठेर हेरिहाल्छिन् उनी । उमेर ७८ वर्ष भयो । आठ वर्षदेखि वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा छिन् । उनका नजिकका आफन्त कोही छैनन् । ‘मेरा लागि सबैथोक यही आश्रम भएको छ,’ घिमिरे भन्छिन् ।

सानै उमेरमा सहाराविहीन भइन् । बालखैमा आमाबुवा गुमाएकी घिमिरे जीविकोपार्जनका लागि घरेलु कामदार बनिन् । उनको घर काभ्रेपलाञ्चोक हो । ज्यालामजदुरीको काम खोज्दै सुुर्खेतसम्म आएकी हुन् । टुहुरो बनेकी उनी पेट पाल्नकै लागि घरेलु कामदार पनि बनिन् । यतै बिहेवारी भयो । श्रीमान् भारतीय नागरिक थिए, बिहेको पाँच वर्ष नपुग्दै उनको निधन भयो । श्रीमान्को यहाँ घर थिएन । आफन्त थिएनन् । घिमिरेले विगत सुनाउँदै भनिन्, ‘फेरि म घरेलु कामदार बनेँ । धेरै वर्ष अरुकै घरमा काम गरेर बित्यो ।’

सकुन्जेल अर्काको काम गरेकी उनलाई बुढेसकाल लागेपछि भने समस्या आइलाग्यो । शारीरिक अवस्था कमजोर बन्यो । अब उनलाई पेट पाल्नै मुस्किल हुनथाल्यो । जीवनको उत्तरार्धमा उनी अलपत्र परिन् । बाँकी दिन गुजार्ने आश्रय चाहियो, जाने कहाँ ? उनलाई कसैले सिकाइदिए प्रशान्तिमा जानुस् ।

घिमिरे त्यहाँ गइन् । आश्रय मिल्यो, आफन्त भेटिए । मनका वेदना सुन्ने÷सुनाउने दौतरी छन् त्यहाँ । के खाने, कसरी बस्ने कुनै चिन्ता छैन । ‘एक गाँस मिठो मसिनो खाने, भजनकिर्तन गर्ने आनन्दले दिन बितेका छन्,’ उनले भनिन् । घिमिरेलाई अहिले बुढेउलीले ढपक्कै ढाकेको छ । आँखा राम्ररी देख्दिनन्, कान कम सुन्छिन् । स्वास्थ्यमा पनि बेला–बेला समस्या आइरहने उनी बताउँछिन् ।

परिवार नभएकी घिमिरेजस्ता मात्र आश्रममा आश्रित छैनन् । घरभरी सन्तान र गाउँभरी आफन्त भएकाहरूको सहारा पनि प्रशान्ति नै बनेको छ । पछिल्लो समय उमेर पाको भएपछि परिवार र समाजबाट अपहेलित हुनेहरू धेरै छन् । मानबहादुुर श्रेष्ठ त्यस्तै पात्र हुन् । उनी उमेरले ८२ कटे । उभिन लौरी चाहिन्छ । लौरी नै उनको बुढेसकालको भरपर्दो सहारा हो । दैलेखको बिजौरा घर भएका श्रेष्ठले जीवनको उर्जाशील समय भारतमै बिताए । उतै बिहे गरे । वैवाहिक सम्बन्ध भने लामो समय टिकेन । आश्रमको स्थापनादेखि नै उनी यहाँ बस्दै आएका छन् ।

आफ्नै सन्तान नभएपनि आफन्तको नौली छैन । तै उनलाई भेट्न कहिल्यै कोही आएनन् । उनी शारीरिक रूपमा पनि असक्त छन् । ढाडमा पुरानो चोट छ, मनमा आफन्तको । श्रेष्ठले भने, ‘शरीरको भन्दा मनको चोट बढी दुख्ने रहेछ । नजिकका आफन्तले हेरेनन् । आश्रम नभएको भए मेरो अवस्था के हुँदो हो ।’

प्रशान्तिमा आश्रित अर्का ज्येष्ठ नागरिक हुन्, खड्कप्रसाद आचार्य । शरीरमा तागत हुञ्जेल उनले भारतमा मजदुरी गरे । बिहे गरेनन् । उमेर बढ्दै जाँदा शरीरले पनि साथ दिन छोड्यो । उनका पनि आफन्त छन् । भएर के गर्नु नजिक कोही आउँदैनन् । बुुढेसकालको सहारा यहीँ भयो,’ उनले आश्रमका भित्ताहरूमा चियाउँदै भने । आचार्य अहिले पनि नजिकका आफन्तलाई सम्झिरहन्छन् । ‘बुढेसकालमा झन धेरैको याद आउने रहेछ । उनीहरूले पो मलाई बिर्से होलान्,’ उनी भन्छन्, ‘कोही भेट्न आउँलान् कि भनेर अझै आश लागिरहन्छ ।’

दैलेखको गुराँस गाउँपालिकाका डम्बरबहादुर बुढा र उनकी श्रीमती देविकला बुढा पनि यही प्रशान्ति आश्रममा छन् । डम्बर ७८ र देविकला ८० वर्षका पुगे । उनीहरूका सन्तान छैनन् । सहारा आश्रम बनेको छ । घरमा हेरचाह गर्ने कोही नभएपछि आश्रममा आएको उनीहरू बताउँछन् ।

यी केही प्रतिनिधि पात्र हुन् । कोही र केही नहुने मात्र होइन सबैथोक भएकाहरू पनि उमेर ढल्कदै जाँदा बेसहारा बनेका छन् । ज्येष्ठ नागरिकलाई परिवार र समाजले बेवास्ता गर्ने प्रवृत्ति दिनहँु बढ्दो छ । आफ्नै सन्तानबाट समेत पाका पुस्ताहरू अपहेलित हुने गरेका हुन् । उनीहरूका लागि वृद्ध आमाबुवा ‘बोझ’ बनिरहेका छन् ।

ज्येष्ठ नागरिकलाई समाजको आदर्श मान्नेहरूको संख्या घट्दो छ । जसका कारण बुढेसकालमा वृद्धवृद्धाहरू सहाराविहीन हुने गरेका हुन् । राज्यले समेत ज्येष्ठ नागरिकलाई उचित सम्मान र संरक्षण गर्न सकिरहेको छैन । तीनै तहका सरकारले उनीहरूको स्वास्थ्य, सुरक्षा र ज्ञान सीपको पुस्तान्तरण गर्ने ठोस नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । सरकारी निकाय समेत ज्येष्ठ नागरिकप्रति अनुदार देखिन्छ । सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता र सार्वजनिक सेवामा दिइएका केही सुहलियतबाहेक ज्येष्ठ नागरिकलक्षित कार्यक्रम बनेका छैनन् ।

आफन्त, समाज र राज्यको बेवास्ता भोगिरहेका नागरिकहरूलाई आश्रमहरूले भने निकै राहत मिलेको छ । बाँकी जीवन गुजार्ने सहारा आश्रमहरू बनेका छन् । प्रशान्ति वृद्धाश्रमले वि.सं. २०५४ सालदेखि वृद्धवृद्धाको सेवा गर्दै आएको छ । त्यहाँ अहिले २८ जना ज्येष्ठ नागरिक छन् । आश्रमलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुँदै आएको छ । आश्रम सञ्चालक समितिका सचिव चेतबहादुुर अधिकारीका अनुसार एक करोड बराबरको अक्षयकोष स्थापना गरी त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकका लागि हुने खर्च व्यवस्थापन गर्ने गरिएको छ । जन्मदिन, विवाह, वार्षिक तिथिलगायतको अवसरमा पनि विभिन्न व्यक्तिहरूले आश्रमलाई खाद्यान्न, जिन्सी र नगद सहयोग गर्ने गरेको उनले बताए ।

प्रकाशित मितिः   १६ आश्विन २०७८, शनिबार ०५:००