जोखिम छँदै हेलचक्य्राइँ

कर्णालीमा कोभिड संक्रमण दर उच्च, हिमाली जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप

कर्णालीमा कोभिड संक्रमण दर उच्च, हिमाली जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप

कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको जोखिम कायमै छ । कर्णालीका सबैजसो जिल्लामा दैनिक नयाँ संक्रमित भेटिने क्रम रोकिएको छैन । प्रदेशमा अहिले पनि संक्रमण दर सरदर २५ देखि ३० प्रतिशत हाराहारीमा छ । बुधवार प्रदेशभर एक सय ३४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको छ । यो कूल परीक्षणको ३२ प्रतिशत हो । अघिल्लो दिन मंगलवार १२ जनामा संक्रमण देखिएको थियो । ४५ जनाको कोभिड जाँच गर्दा सो संख्यामा संक्रमित फेला परेका थिए । उक्त दिन परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको उच्च जोखिम रहेकै बेला हेलचक्य्राइँ भने बढ्दो छ । पछिल्लो समय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडिएको छ । मानिसहरूले संक्रमणबाट बच्न सावधानीका उपाय नअपनाउने गरेका हुन् । स्वास्थ्य सतर्कतामा लापरबाही मात्र भएको छैन कोरोना परीक्षण गर्नेहरूको संख्यामा समेत कमी आएको छ । तर, परीक्षण गरिएकामध्ये ठूलो संख्यामा संक्रमण फेला पर्ने गरेको छ । स्वास्थ्य संस्थाहरूले पनि परीक्षणको दायरा घटाएका छन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मात्र परीक्षण गर्ने गरिएको हो ।

चिकित्सकहरूका अनुसार कर्णालीमा कोरोना संक्रमणको जोखिम अहिले पनि उस्तै छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले संक्रमणको जोखिम नटरेको बताए । उनका अनुसार पछिल्ला केही सातायता संक्रमणका कारण सिकिस्त हुने बिरामीको संख्या भने घटेको छ । मंगलवारसम्म प्रदेश अस्पतालमा ६ जना कोभिड संक्रमित उपचाररत छन् । ‘अस्पताल भर्ना हुने बिरामी न्यून छन्,’ निर्देशक डा. खड्काले भने, ‘संक्रमणको जोखिम भने उच्च छ ।’

गएको वैशाख–जेठमा कर्णालीमा कोराना संक्रमण दर निकै माथि पुगेको थियो । संक्रमितको चाप अत्यधिक हुँदा अस्पतालहरूमा बेड नपाइने अवस्था थियो । त्यसबेला प्रदेशमा संक्रमण दर ९० प्रतिशतसम्म पुगेको हो । स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावमा अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका थिएनन् । त्यसयता विस्तारै ओरालो झरेको संक्रमण तीज पर्वका बेला फेरि उकालो लाग्यो । चाडपर्वमा भिडभाड बढेका कारण संक्रमण पुनः बढेको हो । तीजपछि कर्णालीमा संक्रमण दर स्थिर छ । डा. खड्काले अहिले पनि जोखिम रहिरहेकाले हरेक व्यक्तिले स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने बताए । उनी भन्छन्, ‘थोरैमा परीक्षण हुँदा संक्रमितको संख्या कम देखिएको हो । जोखिम नै नभए जसरी लापरबाही नगरौँ । फेरि जटिल अवस्था आउन सक्छ ।’

प्रदेशमा हालसम्म ३३ हजार चार सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३१ हजार पाँच सय ७० जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क छ । संक्रमितमध्ये तीन सय ७७ जनाको ज्यान गएको छ । असारदेखि मृत्युदरमा कमी आएको हो । त्यसअघि एकैदिन १२ जनासम्म कोरोना संक्रमितको ज्यान गएको थियो ।

दसैँ–तिहार जस्ता ठूला चाड नजिकिएसँगै मानिसहरूको भिडभाड बढ्न थालेको छ । सार्वजनिक स्थलहरूमा सुरक्षा सावधानी नभएकाले संक्रमण फैलिने खतरा बढी छ । पछिल्लो समय प्रदेशभित्रिने सीमा नाकाहरूमा कडाइ गर्न छोडिएको छ । विगतमाजस्तो अहिले नाकाहरूमा जाँच नहुने गरेको हो । चाडबाडको समय भएकाले भारतलगायत देशका विभिन्न सहरहरूबाट कर्णाली आउनेको संख्या दिनहुँ बढ्दो छ । विना सावधानी आवतजावत भइरहकाले यतिबेला संक्रमण बढ्न सक्ने चिकित्सकहरूको आकलन छ । उनीहरूका अनुसार कर्णालीमा संक्रमणको तेस्रो लहरको खतरा उच्च छ ।

प्रदेशमा पहिलो र दोस्रो लहरमा ज्येष्ठ नागरिक र वयस्क व्यक्तिहरू संक्रमणका कारण बढी प्रभावित भएका थिए । तेस्रो लहरमा बालबालिकाहरू प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । हरेक अस्पतालमा स्वीकृत शैड्ढयाको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि छुट्याउन सरकारी तथा निजी अस्पतालहरूलाई भनिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरी बालबालिकालाई प्राथमिकतामा राखेर तेस्रो लहरको नियन्त्रणका लागि पूर्वतयारी थालिएको बताउँछन् । त्यसका लागि निर्देशनालयले प्रदेशका सबै स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिरहेको छ ।

प्रदेशभर कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन भइरहेका छन् । सूचना अधिकारी चौधरीले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबैलाई खोप दिने काम भइरहेको बताए । चीनसँग सीमा जोडिएका क्षेत्रहरूमा बढी सतर्कता अपनाइएको उनको भनाइ छ । अहिले जुम्ला, हुम्ला र डोल्पामा कोरोनाविरुद्धको खोप लगाइँदै छ  । प्रदेशका दैलेख, रुकुुम–पश्चिम र सल्यानमा अक्सिजन प्लान्ट स्थापनाका कामहरू पनि भइरहेका छन् । प्रदेश अस्पतालमा मेडिकल अक्सिजनका एक हजार थान सिलिन्डर स्टक राखिएको निर्देशनालयले जनाएको छ । हाल सबै जिल्लामा स्वास्थ्य सामग्री पर्याप्त रहेको निर्देशनालयको दाबी छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७८, बिहीबार ०५:००