चाडलक्षित छुट अफर ल्याइँदै

सुर्खेतका उद्योगी तथा व्यवसायीहरूले चाडबाडलाई लक्षित गरेर छुट योजना ल्याउने भएका छन् । उपभोक्तालाई राहत दिने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य संघले त्यसका लागि पहल थालेको छ । संघले व्यवसायी र सरोकारवालासँग छलफल गरेको हो । उपभोक्तालाई थोरै भए पनि राहत होस् भनेर सामान खरिद गर्दा छुट दिनेबारे छलफल थालिएको संघका अध्यक्ष धनबहादुर रावतले बताए ।

‘हामीले त्यसका लागि व्यवसायी साथीहरूसँग बसेर तयारी गरिरहेका छौं,’ उनले भने, ‘सुपथ मूल्यमा गुणस्तरीय वस्तु उपभोक्ताले पाउने वातावरण बनाइने छ ।’

जिल्ला प्रशासन कार्यालयले केही दिन पहिले चाडपर्वको समयमा सहुलियत पसलहरू सञ्चालन गर्न संघलाई अनुरोध गरेको थियो । सोही अनुसार व्यवसायीहरूले पहल थालेका हुन् । संघको समन्वयमा उद्योगी तथा व्यापारीले दसैँ–तिहार तथा छठ पर्वको अवसर पारेर छुट अफर ल्याउन लागेका हुन् । छुट अफरबाट व्यवसायकै प्रवद्र्धन हुने भएकाले जिल्लाभरीका उद्योगी तथा व्यापारीहरूलाई छुट योजना ल्याउन संघले अनुरोध गरेको छ । संघका अध्यक्ष रावतको अध्यक्षतामा बुधवार वीरेन्द्रनगरमा बसेको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा एवम् रंगरोगनका वस्तुमा विशेष छुट दिन वस्तुगत समितिका पदाधिकारीसँग आग्रह गरेको छ । छलफलमा सहभागि व्यवसायीहरूका अनुसार लत्ताकपडा एवम् रंगरोगनका सामग्रीमा कम्तीमा १० प्रतिशत भन्दा माथि छुट दिने बारेमा छलफल भइरहेको छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७८, बिहीबार ०५:००