मूल्यमा मनोमानी

जब हरेक वर्ष चाडपर्वहरू नजिकिन्छन्, बजारमा बेथिति ह्वात्तै बढ्छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन्छ । व्यवसायीहरूको मनपरी चल्छ, मनोमानी रूपमा मूल्यवृद्धि हुन्छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्दछन् । त्यसमाथि आर्थिक रूपमा विपन्न परिवारलाई बजारको बढ्दो बेथितिले समस्यमा पार्छ । यो विकृति प्रत्येक वर्ष उसैगरी दोहोरिन्छ । तर त्यसलाई नियन्त्रणका लागि सम्बन्धित निकायहरू सक्रिय हुँदैनन् । छिटफुट रूपमा हुने बजार अनुगमनले बेथिति नियन्त्रण हुँदैन । गत वर्षको तुुलनामा यो पटक धेरैजसो दैनिक उपभोग्य सामानको मूल्य दोब्बरले बढेको उपभोक्ताले बताएका छन् ।

चाडपर्वहरूमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको बढी खपत हुन्छ । यही मौका छोपेर बजार अनियन्त्रित बनेको हो । यसवर्ष पनि बजारमा बेथिति व्याप्त देखिएको छ । व्यापारीहरूले हरेक सामानको दररेट मात्र बढाएका छैनन् उही सामान पसलैपिच्छे फरक मूल्यमा बेच्न थालेका हुन् । मनोमानी मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् । यतिबेला खाने तेल, दाल, चिनी, गेडागुडी, हरियो केराउलगायका भान्साका सामानको मूल्य आकासियको छ । व्यापारीले अहिले खाने तेलको मूल्यमा भारी वृद्धि गरेका छन् । भान्सामा नभइ नहुने र चाडपर्वमा बढी माग हुने भएकाले तेलको अस्वभाविक मूल्य लिने गरिएको छ । पछिल्ला दिनमा केही तरकारीहरूमा ६० प्रतिशतसम्म मूल्य बढेको छ । यसअघि पनि कोरोना महामारीको कारण आपूर्ति असहज भएको देखाउँदै तरकारी, फलफूल तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाइएको थियो । पछिल्लो समय चाडवाडको मुखमा भने बजार झनै छोइनसक्नु भएको हो । खाद्य वस्तुुको मूल्य आकासिय पनि अनुगमन तथा नियमन गर्ने निकायको सक्रियता भने कमजोर देखिएको छ ।

नियामक निकायको उपस्थिति फितलो भएकै कारण बेथिति बढेको हो । संघीयतापछि सबै तहका सरकारले अनुगमन तथा नियमनको अधिकार पाएपनि बजार झन् अव्यवस्थित बनेको छ । बजारमा भइरहेको बेइमानीलाई नियन्त्रण गर्न स्थानीय तहहरू बढी सक्रिय रहनुपर्ने हो । तर तीनै तहका सरकारको बेवास्ताका कारण व्यवसायीहरूको मनोमानी चलेको छ । अहिले ऐन÷कानुन बनाएरै बजार अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । विडम्बना के छ भने कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये वीरेन्द्रनगरले मात्र उक्त ऐन बनाएको छ । ऐन बनाए पनि वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमनमा भने सक्रियता बढाउन सकेको छैन ।

चाडपर्व नजिक अस्वभाविक रूपमा भइरहेको मूल्यवृद्धिले विपन्न परिवार थप समस्यामा परेका छन् । सम्बन्धित सरोकारवाला निकायलाई बजारको बेथितिबारे थाहा नभएको होइन । तर उनीहरूको गैरजिम्मेवारीपन देखिन्छ । चाडपर्वको मौका छोपेर व्यापारीले प्रत्येक सामानमा बढी मूल्य असुल्ने गरेका छन् । यस्तो बेला सरकारी निकायले बजारमा निगरानी बढाउनुपर्ने हो । बजारमा मूल्यवृद्धि मात्र नभइ अन्य बेथितिहरू पनि उस्तै छन् । माग बढी भएका बेला कतिपय व्यापारीहरूले कृतिम अभाव र कालोबजार समेत गर्दै आएका छन् । यसलाई नियन्त्रण गर्न नियमित अनुगमन र कानुनी कारबाहीको विकल्प छैन ।

प्रकाशित मितिः   १४ आश्विन २०७८, बिहीबार ०५:००