प्रहरीको प्रशंसनीय पहल

नेपालमा मनाइने प्रमुख चाडपर्वहरूमध्ये दसैँ, तिहार, छठलगायत नजिकिदैछन् । बहुसंख्यक नागरिकले मनाउने पर्व हुन् यी । चाडपर्वका आ–आफ्नै मूल्य, मान्यता र सांस्कृतिक महŒव छ । सामाजिक सद्भावसँग यिनको सम्बन्ध जोडिएको छ । साथसाथै रमाइलो र हर्षका अवसर पनि हुन् । यति हुँदाहुँदै पनि चाडपर्वहरूले ल्याउने हर्ष र उल्लाससँगसँगै विकृतिहरू पनि आउने गरेका छन् । पर्व मनाउने तडग–भडक त एकातिर छँदैछ सँगसँगै अन्य आपराधिक गतिविधि पनि हुने गरेका छन् । यसले महŒवपूर्ण पर्वहरूको गरिमा र सौन्दर्य धमिल्याउने गरेको छ । चाडपर्वको समयमा चोरी–डकैती र लुटपाटलगायत हिंसात्मक कार्य पनि हुने गरेका छन् । जसका कारण प्रहरी प्रशासन यस्तो बेलामा निकै चनाखो हुनुपर्ने हुन्छ । सम्भावित अप्रिय घटना हुन नदिने विशेष निगरानी गर्ने गरिएको छ । यसवर्ष पनि प्रमुख चाडपर्व नजिकिएसँगै प्रहरीले शान्ति–सुरक्षा कायम गर्न विशेष कार्ययोजना ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चाडपर्वमा हुन सक्ने ठगी, चोरी, हिंसा तथा अन्य आपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा योजना तयार पारिएको छ । शान्ति–सुरक्षालाई सुदृढ बनाउने, नागरिकको जीउधनको सुरक्षा गर्ने र अवाञ्छित घटना हुन नदिन प्रहरीको विशेष भूमिका रहन्छ । त्यसैले पनि अवस्थाअनुसारका योजना र रणनीति बनाएर कार्यान्वयन गर्ने गरिन्छ । चाडपर्वलक्षित सुरक्षा योजना त्यसैका दृष्टान्त हो । सुर्खेत प्रहरीले केही दिनभित्रैबाट लागू गर्नेगरी योजना तयार पारेको छ । जसअनुसार सामान्य अवस्थाभन्दा बढी जनशक्ति र सेवा विस्तार गरेर प्रहरी खटिने छ । चाडपर्वलक्षित सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न जिल्लामा पाँच सय बढी प्रहरी परिचालन गर्न लागिएको हो । प्रदेश राजधानी समेत भएकाले सुर्खेतको शान्ति सुरक्षार्थ प्रहरीले यहाँ धेरै जनशक्ति खटाउने भएको हो । यसपटक प्रहरीले नागरिकलाई शीघ्र तथा सहज सेवा दिन विभिन्न योजना बनाएको छ । यसका साथै जिल्ला भित्रिने तथा बाहिरिने मुख्य सीमा नाकाहरूमा कडाइ गरिने छ । जनधनको सुरक्षा, आर्थिक कारोबार, वित्तीय संस्थामा हुने चोरी, लुटपाट, यात्रुहरूलाई टिकटमा हुने ठगी रोक्न प्रहरी खटिने छन् ।

चाडपर्वको समयमा बजार तथा भिडभाड हुने क्षेत्रहरूमा प्रहरीले नियमित गस्ती गर्ने छ । प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिकाको बबई, पश्चिम सुर्खेतको तातापानी नाका र घाटगाउँ तथा पूर्वको कालिमाटी एवम् काल्चेमा सुरक्षा व्यवस्था मजबुत बनाइने भएको छ । प्रहरीले बसपार्कलगायत आवतजावत बढी हुने विभिन्न स्थानमा नागरिक सहायता कक्ष पनि सञ्चालन गर्न लागेको छ । प्रहरी र नागरिकको सहज पहुँचका लागि ‘हेल्प डेस्क’ राखिने भएको छ । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पैदलसँगै मोटरसाइकल गस्ती बढाउने बताइएको छ । नागरिकका गुनासा तथा समस्याको तत्काल समाधान गर्न प्रहरीले मोटरसाइकल गस्तीलाई प्राथमिकतामा राखेको हो । विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्ने प्रहरी कार्य प्रशंसनीय छ । यसले चाडपर्वको समयमा हुनसक्ने दुर्घटना नियन्नत्रण गर्न सघाउ पुग्नेछ ।

प्रकाशित मितिः   १३ आश्विन २०७८, बुधबार १०:५६