चाडपर्वलक्षित सुरक्षा योजना: नागरिकदेखि नाकासम्म निगरानी

सुर्खेतमा पाँच सय प्रहरी परिचालन, ‘क्यूआरटी’द्वारा मोटरसाइकल गस्ती

चाडपर्व नजिकिएसँगै प्रहरीले शान्ति–सुरक्षा कायम गर्न विशेष कार्ययोजना ल्याएको छ । सुर्खेत प्रहरीले चाडपर्वलक्षित सुरक्षा रणनीति बनाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चाडपर्वमा हुन सक्ने ठगी, चोरी, हिंसा तथा अन्य आपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा योजना तयार पारिएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले सुरक्षा योजना निर्माण गरेर सोहीअनुसार प्रहरीहरू परिचालन हुने तयारी भएको बताए । ‘दसैँ, तिहार र छठपर्वहरूमा शान्ति–सुरक्षालाई सुदृढ बनाउन योजना बनेको छ,’ उनले भने, ‘सामान्य अवस्थाभन्दा बढी जनशक्ति र सेवा विस्तार गरेर प्रहरी खटिने छ ।’ उनका अनुसार यो अवधिमा जिल्लाभर ठूलो संख्यामा प्रहरी परिचालन हुनेछन् । चाडपर्वलक्षित सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न जिल्लामा पाँच सय बढी प्रहरी परिचालन गर्न लागिएको छ । प्रदेश राजधानी समेत भएकाले सुर्खेतको शान्ति सुरक्षार्थ प्रहरीले यहाँ धेरै जनशक्ति खटाउने भएको हो ।

यसपटक प्रहरीले नागरिकलाई शीघ्र तथा सहज सेवा दिन विभिन्न योजना बनाएको छ । डीएसपी घर्तीले जिल्ला भित्रिने तथा बाहिरिने मुख्य सीमा नाकाहरूमा कडाइ गरिने बताए । चाडपर्वमा यातायातमा हुने ठगीदेखि चोरी र लुटपाटका घटना हुन नदिन चेकजाँचमा कडाइ गरिने भएको छ । जनधनको सुरक्षा, आर्थिक कारोबार, वित्तीय संस्थामा हुने चोरी, लुटपाट, यात्रुहरूलाई टिकटमा हुने ठगी रोक्न प्रहरी खटिने छन् ।
चाडपर्वको समयमा बजार तथा भिडभाड हुने क्षेत्रहरूमा प्रहरीले नियमित गस्ती गर्ने छ । प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिकाको बबई, पश्चिम सुर्खेतको तातापानी नाका र घाटगाउँ तथा पूर्वको कालिमाटी एवम् काल्चेमा सुरक्षा व्यवस्था मजबुत बनाइने भएको छ । प्रहरीले बसपार्कलगायत आवतजावत बढी हुने विभिन्न स्थानमा नागरिक सहायता कक्ष पनि सञ्चालन गर्न लागेको छ । प्रहरी र नागरिकको सहज पहुँचका लागि ‘हेल्प डेस्क’ राखिने भएको छ ।

सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पैदलसँगै मोटरसाइकल गस्ती बढाउने बताइएको छ । नागरिकका गुनासा तथा समस्याको तत्काल समाधान गर्न प्रहरीले मोटरसाइकल गस्तीलाई प्राथमिकतामा राखेको हो । डीएसपी घर्तीले त्यसका लागि ‘क्यूआरटी’ टिम बनाएर परिचालन गर्न लागिएको जनाए । सधैँजसो मोटरसाइकल गस्ती गरिरहेको प्रहरीले चाडबाडमा थप जनशक्ति खटाउने भएको हो । घटना भएको स्थानमा तत्काल पुगेर अनुसन्धान थाल्न सजिलो हुने भएकाले मोटरसाइकल गस्ती प्रभावकारी हुने प्रहरीको भनाइ छ । उक्त गस्तीमा सिनियर प्रहरी अधिकृतसहितको टोली हुनेछ ।

सुर्खेत प्रहरीले चाडपर्वमा सार्वजनिक स्थल, सडक तथा राजमार्गहरूमा हुने घटना न्यूनीकरण गर्न पनि सुरक्षा जनशक्ति परिचालन गर्ने छ । अप्रिय घटना हुन नदिन, भिडभाड नियन्त्रण तथा सवारी साधनको सहज आवतजावतको व्यवस्था मिलाउन प्रहरीले योजना बनाएको छ । नागरिकलाई चुस्त सेवा प्रदान गर्न जिल्लाको सबै भूगोल समेटिने गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगत वर्षका चाडपर्वका बेला भएका अवाञ्छनीय गतिविधिलाई मध्यनजर गरेर यो पटकको सुरक्षा रणनीति बनाइएको हो ।

सबैले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण तयार पार्न प्रहरीले हरेक वर्ष ठूला चाडपर्वमा विशेष सुरक्षा योजना बनाउने गरेको छ । यो समयमा बजारमा देखिने बेथिति रोक्न पनि प्रहरीको सक्रियता बढी देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यस पटक पनि दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारीलगायतमा प्रहरीले विशेष निगरानी बढाउने छ । आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन सादा पोशाकमा विशेष टोली परिचालन हुनेछन् भने जुुवातास र लागूऔषध नियन्त्रणमा प्रहरीले थप कडाइ गर्ने छ । यस्तै, कोरोना महामारी टरिनसकेकाले संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए/नभएको समेत प्रहरीले सार्वजनिक स्थलहरूमा जाँच तथा अनुगमन गर्ने छ । उक्त सुरक्षा योजना केही दिनमै लागू गरिने जनाइएको छ ।


याे भिडियाेसहित

प्रकाशित मितिः   १२ आश्विन २०७८, मंगलवार ०५:०५