दिवा खाजाले विद्यार्थी नियमित
सामुदायिक विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रम प्रभावकारी भएको पाइएको छ । विद्यालयमा खाजा खुवाउन थालिएपछि विद्यार्थी नियमित हुन थालेका हुन् । विद्यार्थीले नियमित कक्षा लिएसँगै उनीहरूको सिकाइ उपलब्धी पनि सुधार भएको विद्यालयहरूले जनाएका छन् ।
सुर्खेतको दशरथपुरस्थित जीवनज्योति नमुना माध्यमिक विद्यालयमा दैनिक प्रतिविद्यार्थी १५ रूपैयाँ बराबरको खाजा दिने गरिएको छ । उक्त विद्यालयमा लेकवेशी नगरपालिकाले खाजाका लागि रकम उपलब्ध गराएको हो । प्रधानाध्यापक तीर्थप्रसाद पौडेलका अनुसार विद्यालयमा खाजा कार्यक्रम सुरू भएयता विद्यार्थी कक्षामा नियमित हुने गरेका छन् । यो विद्यालयमा दिवा खाजा दिन थालिएको एक वर्ष भयो । खाजा कार्यक्रमकै प्रभावका कारण विद्यालयमा बालबालिकाको संख्या बढिरहेको पौडेल बताउँछन् । कोरोना महामारीका कारण विद्यालय लामो समय बन्द रहे पनि खुलेका समयमा विद्यार्थीको कक्षामा उपस्थिति राम्रो हुने गरेको हो । खाजा कार्यक्रम लागू गरिएपछि निजी विद्यालयका झन्डै १५ प्रतिशत विद्यार्थी जीवनज्योतिमा आएको प्रधानाध्यापक पौडेलको दाबी छ ।
दिनभर विद्यालयमा रहने विद्यार्थीलाई दिउँसोको खाजा दिने मात्र होइन उक्त खाजा पौष्टिक आहारसहितको पनि उपलब्ध गराउने गरिएको छ । बालबालिकाले पोषणयुक्त खानेकुरा खान पाउन भनेर स्थानीयस्तरमा उत्पादित खानेकुुरा मात्र खुुवाउने गरिएको जीवनज्योतिले जनाएको छ ।
प्रतिविद्यार्थी १५ रूपैयाँका दरले गुणस्तरीय खाजा खुवाउन कठिन
यस्तै, दैलेखको नारायण नगरपालिका–११ मा रहेको रैनादेवि माध्यमिक विद्यालय टाटामाफुमा पनि विद्यालय खाजा कार्यक्रमले विद्यार्थी नियमित भएका छन् । विगतका वर्षहरूमा खाजा खाने समयमा कतिपय विद्यार्थी घर गइसेका हुन्थे । बालबालिकाको पढाइ नियमित गर्न तथा सिकाइ गतिविधिमा सक्रिय गराउन खाजा कार्यक्रम यो विद्यालयमा पनि प्रभावकारी भएको हो । विद्यालयका प्रधानाध्यापक सन्तबहादुुर खड्काले खाजा दिन थालेसँगै विद्यालय नआउने र आएपनि पुुरै समय कक्षामा नबस्ने समस्यामा सुधार भएको बताए । ‘विद्यार्थीहरू आधा घण्टाको पैदल बाटो हिँडेर विद्यालय आउने–जाने गर्दछन्,’ उनले भने, ‘पहिला साना कक्षाका विद्यार्थीलाई भोककै कारण पढाइमा असर पर्ने गरेको थियो ।’ उनले अहिले भने बालबालिकाहरू खेल्दै, रमाउँदै विद्यालयमा पुुरै समय बिताउने गरेको बताए । प्रतिव्यक्ति १५ रूपैयाँका दरले गुणस्तरीय खाजा खुवाउन विद्यालयहरूलाई समस्या भइरहेको उनी बताउँछन् । खाजामा रकम बढाइदिए कार्यक्रम थप प्रभावकारी हुने उनको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कतिपय विद्यालयले भने घरबाटै खाजा ल्याउन लगाउने गरेका छन् । वीरेन्द्रनगर–३ मा रहेको हरिडिलभूमि माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई पैसा दिएर आफै खाजा ल्याउन लगाउने गरेको हो ।
नेपाल सरकारको यो कार्यक्रमलाई अघिल्लो वर्षदेखि स्थानीय सरकारले समेत सिको गरेका छन् । जसले गर्दा विद्यालयमा हुने सिकाइ गतिविधिमा सुधार भएको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले कार्यक्रमको उद्देश्य राम्रो भए पनि १५ रूपैयाँमा खाजा खुवाउन कठिन हुने गरेको पाइएको बताइन् । ‘आइतवार र सोमवार वीरेन्द्रनगरमा भएको दिवा खाजा व्यवस्थापन कार्यक्रममा समेत यही विषय उठेको भन्दै उनले खाजा कार्यक्रमको लागि पर्याप्त बजेट छुट्याइनु पर्ने जनाइन् । ‘पालिकाका शिक्षा इकाई प्रमुखहरूले यो कुरा उठाउनु भएको थियो,’ उनले भनिन्, ‘बजेट बढाउन आवश्यक देखिन्छ ।’
संख्याको आधारमा विद्यालय खाजाको पैसा विद्यालयको खातामा पठाउने गरिएको छ । संघीय सरकारले सम्बन्धित पालिकामार्फत विद्यालयहरूमा रकम पठाउने गरेको छ । रकमको सदुपयोग भए÷नभएको भने अनुगमन हुन नसकेको अभिभावकहरूको गुनासो छ । विद्यालयको दिवा खाजा निर्देशिकामा खानेकुरा पौष्टिकयुक्त हुनुपर्ने, खानेकुरा तयार पार्ने भाँडाकुँडा, पिउने पानीको अवस्था, पकाउने मानिसको स्वास्थ्य तथा पकाउने तरिकाबारे ध्यान दिनुपर्ने उल्लेख छ । विद्यालयमै खाजा बनाउन समस्या हुने गरेपछि कतिपय विद्यालयले विद्यार्थीलाई पैसा दिएर आफै खाजा किन्न भन्ने गरेका छन् । बालबालिकालाई दिइने खाजामा ३० प्रतिशत पोषणयुुक्त खाद्यवस्तु समेट्नुपर्ने सरकारले जारी गरेको निर्देशिकामा छ । बजेट न्यून हुँदा विद्यालयहरू सोहीअनुसारको गुुणस्तरमा भने खाजा दिन नसकिएको बताएका छन् ।
सरकारले सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने सबै विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट बालबालिकाको वृद्धि, विकास सँगै विद्यालय शिक्षामा टेवा पुग्ने उद्देश्य राखिएको छ ।
प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:०१
साझा बिसौनी ।