‘उनको रिसमा पनि माया भेटिन्छ’
सरल र मिलनसार स्वभावकै कारण दुर्गा थापा पत्रकारहरूमाझ ‘दुर्गा दाइ’ को रूपमा चर्चित छन् । उमेरले चार दशक पूरा गरिसकेका उनीसँग पछिल्लो पुस्ताका पत्रकारहरू पनि सहजै भिज्न र घुलमिल हुन सक्दछन् । जसका कारण छोरा पुस्ताका पत्रकारहरूमाझ पनि उनी उत्तिकै प्रिय छन् ।
हँसिलो स्वभावका उनी साथीभाइ माझ रमाइलो गर्न रुचाउँछन् । त्यसैले पनि उनीसँगको यात्रा र संगत आनन्दमय हुने उनका संगतीहरू बताउँछन् । साथीभाइ माझ मिलनसार र रमाइलो गर्ने दुर्गा घरभित्र पनि उस्तै रसिला छन् । उनकी जीवनसाथी बालकुमारी यसै भन्छिन् । बालकुमारीले दुई दशकदेखि एकै रथका दुई पांग्राको रूपमा दुर्गाको जीवनयात्रामा साथ दिइरहेकी छिन् । उनको सुखमा सँगै हाँसेकी छिन्, दुःख पर्दा सान्त्वना र हौसला दिएकी छिन् । त्यसैले त आफ्ना हरेक उपलब्धिको कारण बालकुमारीलाई नै मान्छन्, दुर्गा । बालकुमारीको साथ र सहयोगले नै आफूले अनेक सफलता प्राप्त गरेको उनले बताए । उनी भन्छन्, ‘हरेक काममा हौसला र सहयोग गर्ने बालकुमारीले गर्दा नै म अहिले यहाँसम्म आइपुगेको छु ।’
…
दुर्गाको जन्म वि.सं. २०२७ सालमा भयो, पूर्वी सुर्खेतको दहचौरमा । परिवारका पाँच भाइहरूमध्ये काइलो छोरा हुन्, उनी । बाल्यकालमा अलि जिद्दी स्वभावका थिए । जुनसुकै काममा पनि नेतृत्व लिनैपर्ने हुन्थ्यो । गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम होस्, खेलकुद होस् वा अरु केही । हरेक काममा थापा अग्रसर हुन्थे । उनी जति जिद्दी स्वभावका थिए त्यत्तिकै रमाइला पनि थिए । उनको यस्तो स्वभावले कोही खुशी थिए भने कोही बेखुशी पनि । तर, थापा कसैको प्रवाह नगरी आफ्नो काममा लागि रहने स्वभाव थियो ।
कक्षा पाँचमा पढेर बीचमा पढाइ छोडेका थापाले एक्कासी कक्षा आठमा नाम लेखाएर पढाइ सुरु गरेका थिए । पढाइमा अब्बल नभए पनि थापा पढेदेखि कुनै कक्षामा फेल भने भएनन् । ‘म धेरै जान्ने विद्यार्थी पनि होइन तर, भाग्यले साथ भने सधैं दियो कहिल्यै फेल भइएन’ उनले आफ्नो पढाइको मूल्याङ्कन गरे ।
कानुन विषय लिएर पढेका थापाले बीएल पास पनि गरे । तर उनी भए, पत्रकार । काठमाडौंमा बसेर पढेका थापाले २०५३ सालमा राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरे । दुई वर्ष राससमा काम गरे तर खर्च धान्न नसकेपछि उनले पत्रकारिता छोडेर अन्य काम गर्न थाले । तर पत्रकारिताले उनलाई धेरै टाढा जान भने दिएन । उनी फेरि पत्रकारितामा नै फर्किए । २०५८ सालमा समाचार पत्रमा आवद्ध भए । उनले त्यसपछिका दिनमा पत्रकारितालाई नै आफ्नो मुख्य पेसा बनाए ।
पत्रकारितामा गर्दा उनले धेरै सङ्घर्ष पनि गर्नु प¥यो । जनयुद्धका बेला २०६१ सालमा माओवादीबाट १५ दिन अपहरणमा पनि परे । रानीवासमा पक्राउ परेका अन्य व्यक्तिलाई छुटाउन जाँदा उनी आफै अपहरण परे । काठमाडौंबाट सुरु गरेको पत्रकारिता सुर्खेतमा आएर मौलायो । थापा २०६७ सालमा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्षको जिम्मेवारीमा रहेर तीन वर्ष काम गरे । अहिले सल्लाहकार छन् । उनी अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)मा पनि आवद्ध छन् । पढाइ कानुनतिर, पेसा पत्रकारिता । कानुन विषय पढेको भए पनि उनलाई कानुनकै क्षेत्रमा काम गर्छु जस्तो कहिल्यै लागेन रे ।
उनी कक्षा १२ पास गरेर घरमा थिए । उनको विवाह गर्ने उमेर पनि भएको थियो । थापाको संस्कारमा मामाको छोरी विवाह गर्ने चलन भए पनि थापा भने अरु कसैलाई मन पराउन थालेका थिए । उनले मन पराएको केटी अरु कोही नभएर बालकुमारी गुरुङ्ग थिइन् । कक्षा ९ सम्मसँगै पढेका थापा र बालकुमारी सधैं भेटेपछि जिस्किएर बोल्ने गर्थे । एकअर्कालाई मन पराउँथे ।
थापाले बालकुमारीलाई २०४८ सालमा प्रेम प्रस्ताव राखे । बालकुमारीले थापालाई पहिला जागिर गरेर आत्मनिर्भर भएपछि मात्रै विवाह गर्ने शर्त राखिन् । दुई वर्षसम्म दुवैको माया प्रेममा कसैले शंका पनि गरेनन् । गाउँलेको नाताले थापा र बालकुमारी फुपु भदै पर्ने भएकाले अरुले पनि शंका गरेनन् । उनीहरूको दुई वर्षसम्म झांगिएको प्रेम २०५० सालमा विवाहमा परिणत भयो । त्यतिबेला मागेर विवाह गर्न सम्भव थिएन उनीहरूले मागेर विवाह गरे । भन्छन्, ‘गुरुङ्गको छोरी मगरको छोरालाई नदिने भएकाले भाग्यौं ।’ थापाले बालकुमारीलाई भगाएर काठमाडौं नै लगे ।
हरेक बाबुआमालाई आफ्नो छोरी आफूले दिएको ठाउँमा र रोजेको केटासँग विवाह गरोस् भन्ने चाहना हुन्छ । आफूखुशी भागेर विवाह गर्दा हरेक बाबुआमाको मन त दुख्छ नै तर, बाबुआमाको मन न हो छोरा छोरीले जति नै गल्ती गरे पनि माफ गर्नसक्ने क्षमता बाबुआमासँग हुन्छ । बालकुमारीको बाबुआमाले पनि छोरीलाई माफ गरिदिए ।
पिता नरबहादुर गुरुङ्ग र माता देवीसरा गुरुङ्गको कोखबाट २०२८ सालमा दैलेखमा जन्मिएकी बालकुमारीको बाल्यकाल दहचौरमा बित्यो । उनी बाल्यकालमा मिलनसार स्वभावकी थिइन् । विवाहपछि बालकुमारीलाई भने कर्मघर पराइ जस्तो लागेन । घरको काम र जिम्मेवारी सबै आफैले गर्नुपर्ने भएकाले उनलाई माइती र घर उस्तै–उस्तै लाग्यो । नरमाइलो अनुभव उनले गर्नु परेन । उनले भनिन्, ‘माइती र घर एउटै हो मेरो लागि ।’
थापाले बालकुमारीलाई खाना पकाउनमा सघाउने गर्छन् । थापा भन्छन्, ‘मैले पकाएको तरकारी मिठो हुन्छ रे उनीहरूलाई अरुमा त सघाउदिन खाना पकाउनमा त सघाउने गर्छु ।’ उनीहरूको सामान्य झगडा हुन्छ । तर त्यसले ठूलो रूप लिनै पाउँदैन । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि झगडा हुनु भनेको सामान्य नै हो ।’ जो मान्छे नजिक हुन्छ उसैसँग नै हो झगडा पर्ने पनि । उनीहरूका अनुसार झगडामा पनि माया मिसाउनुपर्छ । दुर्गा भन्छन्, ‘उनको रिसमा पनि माया भेटिन्छ ।’
यो जोडीका अनुसार दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागि एकअर्काेबीचमा माया स्नेह हुनुपर्दछ । सम्बन्धमा माया, प्रेम र स्नेह भएन भने सम्बन्ध टिक्न सक्दैन । त्यसैले सम्बन्ध बलियो र मजबुद बनाउनको लागि पहिलो औषधि भनेको नै माया हो । मायाले नै संसार अडिएको छ । मायाले नै सबैलाई जोडेको छ । यदि माया नै हुन्थेन भने एकै परिवार आफन्त समाजको निर्माण हुने नै थिएन होला । परिवार, आफन्त, समाज सबैलाई एकअर्काेबीचको माया, प्रेम र स्नेहले नै जोडेर राखेको छ । त्यस्तै सम्बन्धलाई पनि जोडिरहने उपाय भनेकै माया हो ।
उनीहरूका अनुसार जीवन सङ्घर्ष हो । जीवनमा उतारचढाव, सुखदुःख अनेकौं आइरहन्छन् । ती सबै दुःखसुखलाई सहज रूपमा सहन र जीवनमा आइपर्ने समस्यालाई समाधान गर्नसक्नु नै जीवन हो । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् ।’ रथ एउटा मात्र पाङ्ग्राले चल्दैन त्यसैले जीवनसाथी भनेको पनि दुई पाङ्ग्रा नै हुन् । जीवनको हरेक दुःखसुखमा साथ दिने, जीवनको अन्तिम घडीसम्म साथ दिने साथी नै जीवनसाथी हुन् ।
प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार ११:५४
साझा बिसौनी ।