‘गल्ती गर्नेलाइ अख्तियारमा पठाउनु पर्दैन, म आफै ठेगान लगाउँछु’

मध्यपश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटाले कानुनको दुरूपयोग नगर्न सरकारी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । कानुन विपरित काम गर्ने जोकोहीलाई पनि नछाड्ने भन्दै उनले गल्ती भेटाएमा आफूले नै अब कारबाही थाल्ने चेतावनी दिए । उनले अब भ्रष्टाचार गर्ने कर्मचारीलाई अख्तियारमा पठाउनुको साटो आफैंले नै ठीक पार्नेसमेत बताए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा क्षेत्रीय प्रशासक देवकोटाले भने, ‘कर्मचारीको एकमात्र साथी कानुन हो, कानुन बाहेक अरुको स्वार्थ नहेर्नुस् । यदि कसैले भ्रष्टाचार गरेको भेटाएँ भने म त्यस्तालाई आफै सिध्याउँछु, अब अख्तियारमा पठाउनु नै पर्दैन ।’ भ्रष्टाचारले समाज र राज्य नै कमजोर हुने भन्दै उनले कर्मचारीलाई राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । उनले थपे, ‘म कडा रूपमा प्रस्तुत हुनेछु, जसले गल्ती गर्नेछन् उनीहरू आफै सकिनेछन् । गल्ती गर्नेलाई जागिरबाट हटाउनेदेखि बढुवा रोक्नेसम्मको अधिकार हामीलाई छ, तपाईंहरू बेलैमा सचेत हुनुहोला ।’

कानुनले नै कर्मचारीलाई अधिकार दिएको भन्दै उनले जनताको काम निसंकोच गर्न आग्रह गरे । सुट र बुट लगाउनेको काम छिटो हुने गरेको भन्दै उनले अब कमजोर र निमुखा जनतालाई सहज रूपमा सेवा दिनेतर्फ ध्यान दिन कर्मचारीलाई सुझाव दिए । सानो गल्ती गर्ने बित्तिकै कारबाही थालिने उनको भनाइ छ । यसले गल्ती गर्नेहरू सचेत हुने र उनीहरूले ठूला गल्ती गर्ने अवसर नपाउने देवकोटाको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि सरकारी कर्मचारीहरू आफै अग्रसर हुनुपर्ने उनको भनाइ छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा अख्तियारको सुर्खेतस्थित कार्यालयले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । साथै आयोगले विगतको भन्दा उजुरी दिनेक्रम बढेको र त्यसलाई किनारा लगाउने काम पनि उत्साहपूर्ण रहेको जनाएको छ ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भ्रष्टाचार समाजको कलंक भएको बताए । उनले भने, ‘भ्रष्टाचार रोग हो, यसले समाजलाई मात्र होइन राज्यलाई नै थला पार्छ । यसलाई नियन्त्रण गर्न सबैले हातेमालो गरौं, राज्यलाई थला पर्न दिनु हुँदैन ।’ तथ्याङ्कमा भ्रष्टाचार बढेको देखिए पनि उनले यो बढेको नभइ उजुरी दिनेक्रम बढेको बताए । विगतमा उजुरी दिने संस्कार नहुँदा कम देखिएको उनको भनाइ छ । राज्यको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नभएको भन्दै उनले सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे । कानुनले दिएको अधिकार दुरूपयोग गर्नु नै भ्रष्टाचार भन्दै उनले आर्थिक विषयलाई मात्र भ्रष्टाचार भन्ने सोच त्याग्नुपर्ने बताए । समाजका हरेक व्यक्ति भ्रष्टाचारविरुद्धको अभियानमा लाग्नुपर्ने उनको सुझाव थियो ।

यस्तै अख्तियारको सुर्खेत कार्यालयका जंगबहादुर डांगीले शक्तिमा हुनेहरूबाटै बढी भ्रष्टाचार हुने गरेको बताए । शक्तिमा हुनेहरूसँग स्रोत हुने र उनीहरूले त्यसको दुरूपयोग गर्ने सम्भावना पनि बढी हुने उनको भनाइ छ । यसका लागि नागरिकहरूबाटै खबरदारी आवश्यक रहेकोमा डाँगीले जोड दिए । आफूले भ्रष्टाचार नगर्ने भन्दा पनि अब अरुलाई गर्न नदिनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २५ मंसिर २०७३, शनिबार ११:५९